क्षमताभन्दा बढी यात्रु बोक्दै गरेका तीन गाडी प्रहरीको नियन्त्रणमा
धनगढीः कैलालीको चौमाला–खैराला सडकबाट क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै तीन गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक सवारी चौमाला–खैराला सडकमा सञ्चालनमा आएका छैनन्।
निजी जिपहरुले प्रति व्यक्तिबाट पाँच सय रुपैयाँ भाडा लिएर सेवा दिदै आएका छन्। तर, पाँच जना सिट क्षमताको जिपमा २५ जनासम्म राख्ने गरेको पाइएको छ। खेम पुनमगरले चालाएको ग १ ६३१३ नम्बरको जिप, लाल वि.कले चलाएको लु १ च ७०५० नम्बर र नारायण साँउदले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३९२३ नम्बरको जिप नियन्त्रणमा लिएको सहायक ट्राफिक प्रहरी कार्यालय चौमालाले जनाएको छ।
चौमाला झिल हुँदै खैरालासम्म चल्ने जिपहरुका कारण दुर्घटनाको जोखिम बढेको पटक–पटक स्थानीय तथा जनप्रतिनिधिहरुले ट्राफिक प्रहरीलाई भन्दै आएका छन्। तर, ट्राफिक प्रहरीले वास्ता गरेको छैनन्। जिपका सञ्चालक तथा चालकहरुले समेत जोखिमको विषयमा वास्ता गरेका छैनन्।
नयाँ ट्रयाक निर्माण गरिएको कच्चि सडकमा क्षमताभन्दा बढी यात्रु ओसार्ने काम हुँदै आएपछि दुर्घटनाको जोखिम बढेको छ। साथै नियन्त्रणमा लिएका गाडिको रुट पनि नभएको प्रहरीले जनाएको छ। कारबाही प्रक्रिया भने पालिकाका प्रतिनिधि र सवारी धनिसँग भोलि (बिहीवार) छलफलपछि हुने भएको छ।