श्री मालिकार्जुन दार्चुला सेवा समितिको विगत र वर्तमान
मान सिह धामी (भौनबाटी) : मैले लेख्ने गरेका आलेखहरू तरङ्गित हुने गरेका छन्। तर त्यस्तो तरङ्ग नै आउनु पर्ने विशेष कुरा संप्रेषित नगरेपनि किन हो कुन्नि ! टिप्पणी भने आइरहन्छन् । मैले जे देखे र जे अनुभूति गरे, त्यही कुरा लेख्ने गरेको व्यहोरा अनुरोध गरे ।
यस मालिकार्जुन दार्चुला सेवा समितिको स्थापना वि.सं. २०६५ सालमा भएको हो । म यस सेवा समितिको संस्थापक सचिव भएको हैसियतले पनि संस्थाको बारेमा मैले लेख्दा यथार्थ र तथ्यपरक विवेचना हो भन्ने कुरामा आम दार्चुलाबासी सरोकालवालाज्यूहरूलाई विश्वस्त हुन अनुरोध गर्न चाहन्छु । झोले अफिसबाट सुरुभएको यो संस्थाको हाल आफ्नै भवन छ । भवनमा अफिस कोठा, सेमिनार हल, इन्टरनेट सेवा, सुविधा सम्पन्न सौचालय लगायतको सुविधा उपलब्ध छ । हाल यस संस्थामा योग अभ्यास र आध्यात्मिक व्यक्तित्वहरूकोलागि भजन किर्तन नियमित सञ्चालनमा रहेको छ । यस संस्थाले समय समयमा लोकसेवा तयारी कक्षा, शिक्षक सेवा आयोगका तयारी कक्षाहरू पनि विगतमा सञ्चालन गर्दै आएको थियो ।
दार्चुला मूलघर भई कैलालीमा वसोवास गर्दै आएका मनकारी व्यक्तित्वहरूले अक्षय कोषको स्थापना गरेका छन् । उक्त कोषबाट आउने ब्याज रकम गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गर्दै आएको छ । यस सेवा समितिले पटक पटक गरि सातौं रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । जनहितमा आधारित लागुपदार्थ सचेतना कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, सरसफाइ कार्यक्रम, विरामीहरूलाई फलफूल वितरण कार्यक्रम, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम लगायतका समय सान्दर्भिक कार्यक्रमहरू गर्दै आएको छ । यस सेवा समितिलाई यो अवस्थासम्म पु–याउन प्रत्यक्ष र परोक्ष रुपमा मद्दत गर्नु हुने सबै मनकारी दाताहरूलाई धन्यवाद नदिइरहन सक्दैन ।
यस सेवा समितिले प्रत्येक वर्ष दार्चुला दर्पण नामक पुस्तक, भित्ते पात्रो प्रकाशन गर्दै आएको छ । संस्थालाई रु. ५००० भन्दा बढी सहयोग गर्ने दाताहरूको नाम समिति भवनको परिसरमा सिलापत्रमा अध्यावधिक गरिएको छ । दार्चुला मूल घरभई हाल कैलाली जिल्लामा बसोबास गर्दै आएका सम्पूर्ण दार्चुलाबासी यस सेवा समितिका आजीवन र साधारण सदस्य हुन् । आजीवन र साधारण सदस्यता लिएका व्यक्तिहरू नै यस संस्थाका मुख्य सरोकारवाला हुन् ।
यसो भन्दैमा यो सेवा समिति दार्चुलेबासीको मात्र होइन है । यस सेवा समितिले सुदूरपश्चिमकै छाता सङ्गठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । यो विशुद्ध सामाजिक संस्था हो । दानगर्न इच्छुक जो कोहीलाई पनि यस संस्थाले सम्मान गर्दै आएको छ । यस सेवा समितिमा आवद्ध दार्चुलेबासी सबै जातजाति, धर्म, संस्कृति, भेषभूषा, निजामती कर्मचारी, प्राध्यापक, शिक्षक, वकिल, उद्योगी, व्यवसायी, समाजसेवी लगायत सबैको हातेमालो तथा समन्वय र सहयोगकोलागि फेरि पनि समितिले अपेक्षा गरेजस्तो लाग्छ ।
१०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य पश्चात देशमा प्रजातन्त्रको पुनर्बाहली भयो । समय सापेक्ष नाम र कामहरू बदलिदै आएको परिप्रेक्ष्यमा समिति र समाजको बिचमा तात्त्विक भिन्नता भने अवश्य पनि छ । समाज भित्र समिति हुन्छ र समिति भनेको निश्चित व्यक्तिहरूको बोलवाला वा विशेष कामका निम्ति गठन गरिएको सानोतिनो समूह भन्ने हुन्छ ।
त्यसैले अब हुने वार्षिक साधारण सभामा समिति शब्दलाई परिमार्जन गरेर “मालिकार्जुन दार्चुला सेवा समाज“ बनाउनु पर्दछ भन्ने पङ्त्तिकारको ठम्याई रहेको छ । आफू समाजशास्त्रको विद्यार्थी नभए पनि मेरो बुझाईमा समाजले व्यापक अर्थ ओगटेको हुन्छ । समिति भनेको विशेष कामको निम्ति गठन गरिएको सानोतिनो समूह भन्ने हुन्छ भने समाज भनेको सञ्जनहरूको मञ्च हो । अर्थात कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ हो । त्यसैले समितिको ठाउँमा समाज शब्द राख्नु पर्दछ ।
हुन त नजाति छु, नराम्रो छु कसले पो भन्छ र ! हाम्रो वर्तमान सेवा समितिको अफिसको अभिलेखिकरण व्यवस्थापन पनि अति नै राम्रो रहेको छ । यस लेखमा केही सुझावहरू पनि प्रस्तुत गरिएको छ । जुन निम्न लिखित छन् :
१. कार्यसमिति बसेर नयाँ कार्यक्रम ल्याउनु पर्ने ।
२. दार्चुलाबाट आएका दयनीय अवस्थाका र अलपत्र
परेका विरामीहरूलाई सक्दो सहयोग गर्ने ।
३. नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर
समितिको सिफारिसमा दार्चुलाका जो कोहीलाई
पनि सजिलै रगत उपलब्ध गराउने ।
४. प्रत्येक ३÷३ महिनामा रक्तदान कार्यक्रम सञ्चालन
गर्ने र सम्भव नभए वर्षमा दुईपटक अनिवार्यरुपमा
रक्तदान कार्यक्रम सञ्चालन गर्ने ।
५. समितिको वार्षिक साधारण सभा यथाशक्य चाँडो
गर्ने ।
६. यो सेवा समितिलाई सेवा समाज बनाउनु पर्ने ।
७. सेवा समाजलाई वार्षिक साधारण सभाबाट विधान
सम्मत पूर्णता दिनु पर्ने ।
८. दार्चुला जिल्लाको चारवटै क्षेत्र दुहुँ, व्यास, मार्मा र
लेकमका वासिन्दा सम्मिलित समावेशी कार्यसमिति
बनाउनु पर्ने ।
९. आजीवन सदस्यहरूको नाम, ठेगाना, पद
अध्यावधिक गर्नु पर्ने ।
१०.कार्यसमितिमा सकेसम्म निःस्वार्थ सामाजिक
भावना भएका र समय दिन सक्ने फुर्सदिलो
व्यक्तिलाई चयन गर्नु पर्ने ।
११.कार्यालय सञ्चालन तथा व्यवस्थापनकोलागि
विभिन्न सरकारी तथा गैह्र सरकारी निकायसँग
प्रभावकारी समन्वय कायम गरिनु पर्ने ।
१२.संस्थाका आजीवन सदस्यहरूबाट संकलित
रकमलाई जम्मा गरेर सहकारी वचतको रुपमा
विकसित गर्ने ।
माथि उल्लिखित कुराहरू कसैको उक्साहटमा वा वहकावमा लागेर नलेखेको व्यहोरा समेत अनुरोध गर्न चाहे । यो मेरो निजी धारणा मात्र हो । ठिक लागेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला।
मान सिह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
आजीवन सदस्य
श्री मालिकार्जुन दार्चुला सेवा समिति, धनगढी