खेलकुद क्षेत्रमा बजेट बढाउँछौँः मुख्यमन्त्री सोडारी
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताएका छन्।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद र १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको पदक प्राप्त खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री सोडारीले भने, “खेलकुदका क्षेत्रमा यस प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारकातर्फबाट आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा यसअघिभन्दा उत्साहपूर्ण ढङ्गले बजेट विनियोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। उनले हिजोका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुदूरले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा प्रथम भएर नयाँ आशा जगाएको बताए।
राष्ट्रिय खेलकुद परिषद्ले यही वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना गरेको १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदक प्राप्त गरी सुदूरपश्चिम प्रथम भएको थियो।