मुख्यमन्त्री लक्ष्मणकिशोर कि कैलाश? एकीकृत समाजवादी निर्णायक
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लक्ष्मणकिशोर कि कैलाश चौधरी भन्नेमा कौतुहलता बढेको छ।
नागरिक उन्मक्ति पार्टीबाटै दुई जना प्रदेश सांसदले मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि को मुख्यमन्त्री बन्ने भन्नेमा अन्योल र आंशका बढेको छ। मुख्यमन्त्रीका दाबेदार दुबै सांसदले प्रदेश प्रमुख समक्ष समर्थकसहितको सुची पेस गरिसकेका छन्। कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबारसम्मको म्याद दिएका थिए।
उक्त समयभित्र नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै दाबी पेस गरेपछि प्रदेश प्रमुख अनिर्णीत बन्न पुगेका छन्। केन्द्रीय सत्ता गठबन्धनविपरीत एकीकृत समाजवादीले कांग्रेससहितको सरकार गठन गर्न समर्थन दिएपछि मुख्यमन्त्री चयनमा झनै कठिनाइ उत्पन्न भएको छ। नागरिक उन्मुक्ति सुरुदेखि नै दुई समूहमा विभाजित छ।
यसको एउटा समूहले केन्द्रीय सत्ता गठबन्धन र अर्को समूहले कांग्रेससहितको गठबन्धनमार्फत सरकार निर्माणका लागि पहल गरिरहेका छन्। नागरिक उन्मुक्तिका लक्ष्मणकिशोरले कांग्रेससँग सहकार्य गरेर सरकार गठनको प्रयास गरे पनि एकीकृत समाजवादीले सनाखत नगर्ने माओवादीका सांसदहरूको दाबी छ। माओवादी संसदीय दलका उपनेता अक्कल रावलले शीर्ष नेताहरूको पहलमा समाजवादीले आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्ने बताउँदै आएका छन्।
मुख्यमन्त्रीमा दाबी पेस गर्ने नागरिक उन्मुक्तिमा कार्यकर्तादेखि सांसदहरू दुई समूहमा विभाजित छन्। एउटा समूह पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा छ भने अर्को समूह संरक्षक रेशम चौधरीको पक्षमा छ। सांसद लक्ष्मणकिशोरले रेशम समूहबाट र कैलाशले रञ्जिता समूहबाट दाबी पेस गरेका हुन्। नागरिक उन्मुक्तिका सात जना सांसदमध्ये पाँच जनाले रेशम समूहका लक्ष्मणकिशोरलाई समर्थन गरेका छन्। रञ्जिता समूहका कैलाशलाई उनीसहित दुई जनाको समर्थन छ।
लक्ष्मणकिशोरलाई कांग्रेस, एकीकृत समाजवादी र राप्रपाले समर्थन गरेका छन् भने कैलाशलाई माओवादी, एमाले र स्वतन्त्र सांसदले साथ दिएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना छन्। कांग्रेसका १८, एमालेका १० र माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र सांसद रहेका छन्। बहुमत पुगाउन कम्तीमा २७ सांसदको आवश्यकता छ।
मुख्यमन्त्रीमा दाबी पेसकर्तामध्ये लक्ष्मणकिशोरको पक्षमा बहुमत संख्या पुगेको देखिएको छ। उनलाई कांग्रेसका १८, उन्मुक्तिका ७ मध्ये ५, एकीकृत समाजवादीका ४ र राप्रपाका १ गरी २८ जना सांसदको समर्थन देखिएको छ। त्यस्तै कैलाशको पक्षमा एमालेका १०, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७ मध्ये २ र १ जना स्वतन्त्र सांसद गरी २४ जनाको समर्थन देखिएको छ। नागरिक उन्मुक्तिमा घनश्याम चौधरी संसदीय दलको नेता छन्।
बहुमत सांसद पनि उनकै पक्षमा छन्। तर पार्टी अध्यक्ष रञ्जिताले भने संसदीय दलको विधान केन्द्रीय समितिबाट पारित नभएको भन्दै यसअघि नै सभामुखलाई पत्राचार गरेका संसदीय दलको नेता कैलाशलाई तोकेकी थिइन्। केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससहितको दललाई साथ लिएर सरकार गठनको प्रयास गरेपछि उक्त पार्टीकै केन्द्रीय नेताहरूबिच नै फरक–फरक मत सार्वजनिक भइरहेका छन्।