धनगढीका उपाध्यायले दूध बेचेर गर्छन वार्षिक आठ लाख आम्दानी
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थालेका छन्। अधिकांश समय गाईभैँसी स्याहार्न, दुहुन र दूध बेच्नमै बित्ने उनी बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म पशुपालानमै व्यस्त रहन्छन्।
विसं २०७६ मा ओमशान्ति बहुउदेश्यीय पशुपन्छीपालन तथा अर्गानिक तरकारीखेती फर्म दर्ता गरेर व्यवसायिक पशुपालनमा लागेका उपाध्यायले हाल चार वटा जर्सी तथा होलिस्टिन जातका गाई र एउटा भैँसी पालेका छन्। उनले दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताए। उनले भने, “दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्छु, दूध प्रतिलिटर ९० मा बिक्री हुन्छ।”
चार जनाको परिवारको खर्च दूध बिक्री गरेकै आम्दानीले धानेको उनले बताए। दुई छोराको पढाइ खर्च, घर खर्च, गाईभैँसीको दाना, घाँसको खर्च कटाएर वार्षिक आठ लाख बचत गरेको उनको भनाइ छ।” नौ लाख ऋण लिएर पाँच वटा भैँसीबाट व्यवसाय सुरु गरेका उपाध्यायले भैँसीभन्दा गाईपालन सहज हुने भएपछि पछिल्लो समय गाईपालनलाई प्राथमिकता दिएका छन्। “पहिले एक बिघा जग्गा भाडामा लिएर त्यहीँ गोठ बनाएर व्यवसाय सुरु गरेको थिएँ”, उनले भने, “अहिले आफ्नै जग्गामा गोठ बनाएको छु। घाँसका लागि वार्षिक एक लाखमा एक बिघा जग्गा भाडामा लिएको छु।”
कोरोनाले आफूलाई कृषक बनाएको उपाध्याय बताउँछन्। “मैले पहिले धनगढीमै फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवासहितको पसल राखेको थिएँ। कोरोनापछि पसलको भाडा तिर्न नसकिने अवस्था आयो र घरखर्च चलाउन सकिएन”, उनले भने, “त्यसपछि मैले कृषिमा लाग्नुपर्छ भन्ने सोच बनाएर पशुपालनमा लागेँ, अहिले आम्दानी पनि राम्रै छ।”उनले गाईपालनसँगै स्थानीय जातका कुखुरापालन र तरकारीखेती पनि गरेका छन्। सरकारले घाँसको बीउ समयमै उपलब्ध गराइदिए र औषधिको व्यवस्था गरिदिए गाईपालन अझै सहज हुने उनको भनाइ छ।