सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने शिलापत्र वर्षखेलाडी २०८०

२०८० चैत्र २८, ०७:५७ खबर संवाददाता

धनगढीः  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित भएका छन्।

गत असोजमा चीनको होन्झाउमा आयोजित एसियन गेम्समा दुर्लभ विश्वकीर्तिमान राखेका २४ वर्षे ऐरीलाई अनलाइन सर्भेक्षणमार्फत ‘वर्षखेलाडी’ चयन गरिएको शिलापत्रले जनाएको छ। अघिल्लो वर्ष क्रिकेटर आशिफ शेख शिलापत्र वर्षखेलाडी २०७९ घोषित भएका थिए।

नेपाली टोलीका भरपर्दा खेलाडी ऐरीले २०८० सालमा आयोजित एसियन गेम्समा मंगोलियाविरुद्ध विश्व कीर्तिमान राखेका छन्। मनोनयनमा परेका १० खेलाडीमध्ये ऐरीलाई कुल ५३.२ प्रतिशत मत प्राप्त भएको शिलापत्रले जनाएको छ। ‘यस वर्ष शिलापत्र सर्वेक्षणमा उनले पाएको यो सबैभन्दा लोकप्रिय मत हो’, ऐरीलाई वर्षव्यक्ति घोषण गर्दै शिलापत्रले लेखेको छ, ‘अनलाइन सर्वेक्षणमा ७ हजार ७ सय ५२ उत्तरदाता सहभागी भएका थिए।’

मनोनयनमा फुटबल पुरुषतर्फ अनन्त तामाङ, एथलेटिक्सतर्फ दीपक अधिकारी र सन्तोषी श्रेष्ठ, महिला क्रिकेटमा रुविना क्षेत्री, पारा तेक्वान्दोमा पलेसा गोवर्धन, गल्फमा सुवास तामाङ, भलिवल पुरुषमा मानबहादुर श्रेष्ठ र रवि केसी तथा भलिवल महिलामा सरस्वती चौधरी परेका थिए। यीमध्ये दोस्रो भएकी रुविनाले ९.८ प्रतिशत र तेस्रो भएका अनन्तले ७.८ प्रतिशत मत प्राप्त गरेका छन्। कतिपय उत्तरदाताले फुटबलर प्रिति राईको नाम पनि सिफारिस गरेका थिए।
 

कमेन्ट लोड गर्नुस