धनगढीमा रेशम पक्षका सांसदहरुबिच छलफल, रञ्जिता आफ्नै अडानमा
धनगढीः केन्द्रमा सत्ता समीकरण बदलिएसँगै त्यसको असर प्रदेशलाइ परेको छ।
नयाँ समीकरण बनेपछि सुदूरपश्चिममा सरकार गठन अन्योलमा परेको हो। फागुन तेस्रो साता कांग्रेससहितको गठबन्धन भत्किएपछि फेरि एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको नयाँ समीकरणको सरकार बन्न पुगेको हो। गत वर्ष एमाले दुई महिनामै संघ र प्रदेश सरकारबाट बाहिरिनु परेको थियो।
सुदूरपश्चिममा कमलबहादुर शाह सरकार जोखिममा परेपछि मुख्यमन्त्री पदबाटै राजीनामा दिनु परेको हो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी छन्। उनले कैलाश चौधरीलाई दल नेता तोकेकी छन्। त्यस्तै उनले सभामुखलाई पत्र लेखेपछि इन्दिरा गिरी पदमुक्त भएकी छन्।
अध्यक्ष श्रेष्ठ र उनका पति एबं पार्टी संरक्षक रेशम चौधरीको विवादका कारण नयाँ समीकरण अनुसार सरकार गठन हुन सकेको छैन। रञ्जिता नयाँ सत्ता समीकरणमा सहभागी हुन चाहन्छिन् तर रेशम सुदूरपश्चिममा कांग्रेससित मिलेर सरकार बनाउने पक्षमा छन्। जसका कारण सत्ता गठबन्धनले नयाँ सरकार बनाउन सकेको छैन।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ। एक मन्त्रीको सरकारी निवासमा रेशम चौधरीसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन्। छलफलमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता धर्म चौधरी पनि उपस्थित छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्तिभित्र विवाद कायमै छ। रेशम काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता श्रेष्ठ नयाँ सत्ता गठबन्धनसँग रहने गरी छलफल सुरु गरेकी छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको छ। आज (बुधबार) यी सबै विषयमा साझा धारणा बनाउने गरी छलफल अगाडी बढेको बताइएको छ।