सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न एमालेको माग

२०८० चैत्र २७, ०७:२४

धनगढ : कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न एमालेले माग गरेको छ। एमालेको प्रदेश कमिटीले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अविलम्ब ऐन निर्माण गरेर कलेज र अस्पताल पूर्ण रुपमा सञ्चालनको माग गरेको हो।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको चैत २४ गते बसेको प्रदेश कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले यस्तो माग गरेको छ। धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले निर्णय सार्वजनिक गरेको हो।

कैलालीको गेटामा विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा छन। एक सय शय्याको अस्पतालसमेत सञ्चालनमा छ। तर, विश्वविद्यालयको ऐन तयार भएको छैन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ऐन निर्माणको प्रक्रिया सुरु गरेको छ।

यस्तै, एमालेले सेती लोकमार्ग र महाकाली करिडोरमा बजेट कम विनियोजन गरेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ। उसले धनगढीमा सडक निर्माण भईरहेका कारण यातातात सञ्चालनमा असहजता भईरहेको भन्दै छिटो निर्माणको आग्रह समेत गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त बाँकी क्याम्पसहरूलाई पनि आंगिक बनाउन माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको ७५ वर्षको अवसरमा २०८१ सालको बैशाख १० गतेका दिनलाई ‘हिरक महोत्सव’ का रूपमा बनाउने पनि प्रदेश कमिटीले निर्णय गरेको छ।

बैठकले जिल्ला र स्थानीय कमिटीका अधिवेशनहरूको मिति तोकि सकिएकाले २०८१ को जेठ मसान्तभीत्र सबै अधिवेशनहरू सक्न पनि निर्देशन गरेको छ।

बझाङको उप निर्वाचनमा एमालेका उमेदवार जिताउन प्रदेशभरीको ५०१ सदस्यीय निर्वाचन सहयोग समिति पनि गठन गरेको छ।

बैठकले विभिन्न विभागका ईञ्चार्जहरू तोकेको छ भने स्थानीय तहर २३ वटा विभागका इन्चार्ज पनि तोकेको छ। बैठकले समाजवादी र माओवादीबाट पार्टी प्रवेश गरेका २३ जनालाई प्रदेश कमिटीमा मनोनयनको प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय पनि गरेको छ। प्रदेश सभाको बैठक प्रदेश अध्यक्ष कृष्ण जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

कमेन्ट लोड गर्नुस