विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ
टीकापुर : विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिवारदेखि यहाँ सुरु भएको छ। यहाँका महिलाहरूको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ। रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन्।
पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको बताए। ‘‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो’’, हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ, भनले भने। उनले पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोसाक उपलब्ध गराउने बताए।
कलाकार रङ्गी थापाले पुतला खेल आफूहरूको मौलिक खेल भएको बताउँदै सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान रहेको बताइन। छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिने यो खेललाई पर्वका रूपमा लिनुपर्ने विचार उनले व्यक्त गरिन।
विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा प्रतिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ। पुतलासँगै महिलाहरूले न्याउल्या खेल पनि खेल्ने गर्छन्। सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृतिलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताए। ‘‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’’, उनले भने, ‘‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ।’’
जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गराएका हुन्। मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झदै पुतला खेल्न लगाएका थिए। त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आएकी चन्द्रा भण्डारीले बताइन्।