कैलाली अदालतमा मुद्दाको चाङ, सम्बन्ध विच्छेदका सबैभन्दा धेरै
धनगढीः जिल्ला अदालत कैलालीमा मुद्दाको संख्या ह्वात्तै बढेको छ।
विविध प्रकृतिका मुद्दा दर्ता हुने क्रम बढेको अदालतमा बढ्दै गएको छ। पछिल्लो समय सम्वन्ध विच्छेद, लागुऔषध र बैङ्किङ कसुरका मुद्दा सबैभन्दा धेरै दर्ता हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षको चैत १८ गतेसम्म मात्र एक हजार ७ सय १९ नयाँ मुद्दा दर्ता भएका छन्।
गत आर्थिक वर्षको जिम्मेवारी सरेका एक हजार ६१२ मुद्दासहित यो वर्ष ३ हजार ३३१ मुद्दा जिल्ला अदालत कैलालीमा परेका हुन्। चालु आर्थिक वर्षको साढे आठ महिनामा कुल मुद्दाको ५३ दसमलव ६२ प्रतिशत मुद्दाको फैसला भएको छ। अदालतमा लागुऔषध, सम्बन्धविच्छेद र बैङ्किङ कसुरका मुद्दा भयावह रुपमा बढ्दै गएको छ।
चालु आर्थिक वर्षको चैत १८ गतेसम्म तीन हजार ३३१ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका एक हजार ६१२ र यो वर्षमा दर्ता भएको र थप एक हजार ७१९ मुद्दा जिल्ला अदालतमा परेका छन्। यो आर्थिक वर्षको अहिलेसम्म अदालतबाट एक हजार ७८३ मुद्दाको फैसला भएको छ।
कुल विचाराधीन मुद्दाको ५३ दशमलव ५२ फैसला भएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर बिष्टले बताए। चैत १८ गतेसम्म अदालतमा परेका कुल मुद्दामध्ये एक हजार ५४८ मुद्दाको फैसला हुन बाँकी रहेको उनले बताए। फैसला हुन बाँकी मुद्दामध्ये २७२ थान मुद्दा आगामी असार मसान्तमा दर्ता भएको १८ महिना पूरा हुनेछ। अदालतमा हरेक दिन चारवटा इजलास बस्ने गरेको छ।
चार जना जिल्ला न्यायाधीशले गोलाप्रथा मार्फत छनोट भएका मुद्दा हेर्दै आएका छन्। कैलाली अदालतमा परेका मुद्दाको प्रकृति हेर्दा लागुऔषध, सम्बन्धविच्छेद र बैङ्किङ कसुर अर्थात् चेक अनादर मुद्दाको संख्या बढ्दो क्रमा देखिएको श्रेस्तेदार बिष्टले बताए। अदालतमा परेका मुद्दाहरूको प्रकृति अनुसार तीन समूहमा वर्गीकरण गरेर सुनुवाइ सम्पन्न गर्नुपर्ने अधिकतम समय तोकिएको हुन्छ।
अदालतमा परेका मुद्दालाई सरल मार्ग प्रकृति, सामान्य मार्ग प्रकृति र विशेष मार्ग प्रकृति गरी तीन समूहमा वर्गीकरण गरिएको हुन्छ। सरल मार्ग प्रकृतिका मुद्दा किनारा लाग्न ६ महिना, सामान्य मार्ग प्रकृतिका मुद्दाको फैसला हुन बढीमा एक वर्ष र विषेश मार्ग प्रकृतिको मुद्दाको फैसला गर्न सामान्यतया १८ महिना लाग्ने आदालती व्यवस्था छ।