सुखडमा ३५ दिनभित्र विद्यालयको जग्गा खाली गर्ने सर्वपक्षीय सहमति
धनगढीः कैलालीको राष्ट्रिय माध्यामिक विद्यालय, सुखडमा पाँच वर्षदेखि ९३ करोडको आयोजना निर्माणको चरणमा गएको छैन।
२०७५ सालमा दुईवटा छात्रावास भवनहरु, एक चमेनागृह र एक फिजियोथेरापी भवन निर्माणका लागि योजना परेको थियो। तर, जग्गा अभावका कारण आयोजना कार्यान्वयनको चरणमा गएको छैन्। उक्त आयोजना कार्यान्वयका लागि विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको ९७ नम्बर कित्ताको ८ कट्ठा जग्गा खाली गर्न विद्यालयलाई समस्या परेको थियो।
पटक–पटक विद्यालयको जग्गा खाली गर्न सूचना सार्वजनिक गर्दै आएको सो विद्यालयले ३५ दिनको समय दिएको छ। नेपाली काँग्रेसका घोडाघोडी नगर सभापति बमबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिको काम गर्ने शैलीमा समस्या देखिएको बताए। उनले भने, ‘सहमतिमा काम गरेको भए, समस्या हुँदैन। जग्गा खाली गर्ने विषयमा कसैको विरोध छैन।
जग्गामा बसोबास गर्दै आएकाहरुको ज्यान र सम्पतिको रक्षा गर्नुपर्छ। विद्यालयमा अमुख तरिकाको गतिविधि भएको छ। विद्यालयमा पार्टीकरण नहोस्।’ उनले विद्यालयको चार कार्यकाल अध्यक्ष भएकोसमेत बताए। उनले भने, ‘पूर्वी बजारको जग्गा खाली गर्नु विद्यालय व्यवस्थापन समितिको काबु बाहिरको कुरा हो। तर, सक्दैन।’
विद्यालयको जग्गामा बसोबास र व्यापार गर्दै आएकाहरुले संरचना खाली गर्ने विषयमा सहमति जनाएका छन्। विद्यालयको कित्ता नम्बर ९७ मा बसोबास गर्दै आएकाहरुले संरचनाहरु ३५ दिनभित्र आफै भत्काउने सर्वदक्षीय–सर्वदलीय बैठकमा निर्णय गरेका हुन।
विद्यालयको विरुद्धमा जिल्ला अदालत पुगेका उनीहरुले स्टे अडर खारिज भएपछि ३५ दिनभित्र संरचना भत्काउने भएका छन्। विद्यालयले शनिवार बल प्रयोग गरेर संरचना भत्काउने तयारी गरेकोमा राजनीतिक दलहरुका प्रतिनिधिसहितको बैठकले ३५ दिनको समय माग गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले जग्गा अभावका कारण आयोजनाको रकम फिर्ता जाने अवस्थामा रहेकाले खाली गर्न सूचना जारी गरिएको बताए। उनले भने,‘ राजीनामा दिन तयार छु। मैले केही पाउनु छैन। हामी अभिभावकहाँ गएका छौ। हाम्रो अभिभावक नगरपालिका हो। डोजर नहानेसम्म हुँदैन भन्ने पनि छ। तर, फेरि समय दिएर हेरौ। पहिला खाली गर्नेलाई अबिर र माला लगाउछु पनि भनेको थिए।’
घोडाघोडी नगरपालिकालाई ठेक्का प्रक्रियाका लागि बोलपत्रको सूचना जारी गर्न विद्यालयले पत्र समेत पठाएको छ। नगरपालिका मार्फत विद्यालयमा दुईवटा छात्रावास भवन, चमेनागृह र थेरापी सेन्टर निर्माणको ठेक्का सम्झौता हुने छ। ३५ दिनसम्म ठेक्काको प्रक्रिया पूरा हुने र संरचना समेत खाली भइसक्ने दाबी गरिएको छ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले अतिक्रमण गरिएको जग्गा खाली गर्ने र ठेक्का प्रक्रियाको काम एकसाथ सुरु हुनुपर्ने बताए। उनले भने, ‘जग्गा खाली गर्नुपर्छ। छलफलका माध्यमबाट जग्गा खाली गर्नुपर्ने हुन्छ। सरकारको जग्गा हो। त्यहाँबाट संरचना हटाउन समय अपुग भएको छ। हामीले पनि समय कम भएको महसुस गरेका छौ।’
राष्ट्रिय माध्यामिक विद्यालयको पूर्वतिर रहेको ८ कट्ठा जमिनमा निर्माण गरिएका घर–टहरा हटाएर विद्यालयले भवन निर्माण गर्ने तयारी छ। नगर प्रमुख हमालले काम गर्ने वतावारण तयार हुनुपर्ने बताए। उनले भने, ‘स्टे अडरको तिर नजाउ। आयोजनाको टेन्डरको अनुमति तपाईहरुले दिनुपर्यो।
टेन्डरको प्रक्रियामा जान, तपाइहरुले माग गरेको समय पर्याप्त हुन्छ।’ राष्ट्रिय माध्यामिक विद्यालय सुखडको जमिनमा बनेका भौतिक संरचना खाली गराने विषयमा विद्यालय र व्यवसायीबिच सहमति भएको छ। विद्यालयको जमिनमा बनेका सम्पूर्ण भौतिक संरचना खाली गराउन ३५ दिनको समयसीमा निर्धारण गरिएको हो। शनिवार विद्यालयमा बसेको सर्वपक्षीय–सर्वदलीय बैठकले अतिक्रमण गरिएको ८ कट्ठा जमिनमा बनेका भौतिक संरचना खाली गराउने निर्णय गरेको हो।