सुदूरपश्चिममा १४ जना ‘एक्सटर्सन’ अपराधमा मुछिए
धनगढीः सुदूरपश्चिममा ठगी र अपराधिक विश्वासघात हुने गरेको पाइएको छ।
ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १४ जना विरुद्ध उजुरी नै परेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद २१ मा ठगी, अपराधिक विश्वासघात तथा आपाराधिक लाभ एक्सटर्सन सम्वन्धि विभिन्न कसुरजन्य कार्यलाई अपराधिकरण गरि कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ।
अपराधिक लाभ सम्वन्धि कसुरलाई संगठित आपराध निवारण ऐन २०७० को दफा ८ मा समेत अपराधिकरण गरि सजायको व्यवस्था गरिएको छ। कसैको व्यवसायमा गैरकानुनी तरिकाले तथा चरिणमा झुठो दोष लगाउने नियतले डर, त्रास देखाएर अपराधिक लाभ लिने सम्वन्धि कसुरमा हुने सजाय आपराध संहिताको दफा २५३ को उपदफा ३ मा गरिएको भन्दा संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (च) मा गरिएको सजाय बढी तोकिएको छ।
साथै सोहि ऐन बमोजिम अभियोगपत्र दायर भएमा अपराध संहिताको दफा ५ को आधारमा सोहि ऐनको व्यवस्था लागुहुने गरी मार्गदर्शन निर्धारण गरिएको छ। यस्तो अपराध गरेको ठहर भए तीन वर्ष कैद र ३० हजारसम्म जरिबाना हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको विवरणअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ (एक्सटर्सन) सम्वन्धि कसुरमा १४ वटा उजुरी दर्ता भएका छन्।
यस्तो गतिविधि गर्न नहुने तथा कानुन विपरीतको कार्य भएकाले उजुरीमा उल्लेख गरिएका विवरण सही सावित भए दोषीलाई कैद र जरिबाना हुनेछ। छिटो धनी बन्ने लालसाले ठगी गरेर आर्थिक अपराध कर्ममार्फत पैसा कमाउने प्रवृत्ति बढ्दो छ। आर्थिक अपराधका अधिकांश घटनामा छिटो धनी बन्ने लालसाका कारण घटना भएको देखिन्छ। अशिक्षा, गरिबी र विपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन्। साथै कतिपय अवस्थामा पारिवारिक रिसीइबीको कारण र आर्थिक लेनदेनका कारण अपराध बढ्दो छ।