सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा तराई होलीको रङ्गमा रमाउँदै युवायुवती

२०८० चैत्र १२, १०:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम तराईका जिल्लामा होलीको मुख्य पर्व आज (सोमबार) परेको छ भने पहाडी जिल्लामा होली पर्वको मुख्य दिन हिजो (आइतबार) थियो।

तर मौलिक परम्परासहित शुक्रबारदेखि नै होली पर्व सुरु भएको छ। पछिल्ला वर्षहरूमा तराईका जिल्लामा पहाडी जिल्लाका बासिन्दाको बसोबास बढेसँगै पहाड र तराईको दुबै होलीमा रमाइलो गर्नेको संख्या बढ्दै गएको छ। पहाडका अधिकांश बासिन्दाको कैलालीका विभिन्न स्थानमा ठूलो बसोबास छ।

टीकापुरमा अछामी होली चर्चित छ भने धनगढी, अत्तरियालगायतका स्थानमा बाजुरेली समुदायले मौलिक परम्पराका साथ शुक्रबारदेखि नै होली पर्व मनाइरहेको बाजुरेली सेवा समाज कैलालीका सचिव भरत केसीले बताए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्वलाई वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वका रूपमा समेत मनाउने चलन छ।

किंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेश्यले ब्रम्ह्राबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ। 

धार्मिक तथा सांस्कृतिक मान्यता, रितिरिवाज र परम्परालाई पछ्याउँदै अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न स्थानमा बसाइँ सरेका पहाडी समुदायले शुक्रबारदेखि नै परम्परागत पहिरनमा सजिएर देउडा लय र भाकामा होली पर्व मनाउन सुरु गरेका हुन्।

कैलालीको टीकापुरमा वर्षौं अघिदेखि अछामी होली चर्चित छ। त्यस्तै दार्चुला–बैतडी सेवा समाजले पनि पहाडी र तराई होली दुबैदिन उत्साहपूर्वक मनाउने गरेका छन्। पहाडी ७ जिल्लाका अधिकांशको बसोबास कैलाली र कञ्चनपुरमा भएकाले पनि दुबैदिन उल्लासपूर्ण रुपमा होली मनाउने गरिएको छ।

कमेन्ट लोड गर्नुस