सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट ठूलो परिमाणमा भित्रदै अबैध सामान, सानालाई दुःख ठूलालाई चैन

२०८० चैत्र ४, १०:२५ खबर संवाददाता

धनगढीः भारतबाट तस्करीको सामान धमाधम भित्रन थालेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च निगरानी बढाएको दाबी गर्दै आए पनि दैनिक लाखौँ मुल्यको अबैध सामान भित्रने क्रम रोकिएको छैन्। प्रहरी र सशस्त्र प्रहरीले स–सानो परिमाणमा अबैध सामान नियन्त्रणमा लिने गरेको भए पनि ठूलो परिमाणको अबैध सामान सेटिङमै भित्रने गरेको छ।

विशेष गरी कैलाली र कञ्चनपुरमा ठूलो परिमाणमा तस्करीको सामान भित्रने गरेको हो। प्रहरीले भने घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिको सामान जफत गर्ने र ठूला कारोबारीको सामान सेटिङमा छोड्ने गरेको स्थानीयको गुनासो छ। एक स्थानीयका अनुसार ५ किलो चिनी, खुर्सानी र प्याज समातेर प्रहरीले ठूलै काम गरेको देखाउने गरेको छ। तर रातिको समयमा ठूलो परिमाणमा आउने सामान नियन्त्रणमा लिने काम कहिँकतैबाट हुने गरेको छैन्। विपन्न परिवारको सामान जफत गरेर धम्क्याउने प्रहरी प्रशासन ठुलाबडाका सामान भने देखे पनि नदेखे झै गर्ने गरेको आरोप स्थानीयको छ।

हप्तामा वा महिनामा पैसा दिएपछि अवैध सामान पनि बैध हुने तर पैसा नदिएपछि अबैध भन्दै छोड्ने काम विगतदेखि जारी नै रहेको गुनासो समेत बढ्न थालेको छ। साथै जफत गरेको कतिपय सामान प्रहरीबाटै गायब हुने गरेको समेत भारतबाट दैनिक उपभोग्य सामान ल्याएर उपभोग गर्दै आएकाहरु बताउँछन्।

तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन निरीक्षणका क्रममा भन्सार छलीका सामान नियन्त्रण गर्न प्रहरीको सक्रियता बढ्नुपर्ने बताएका छन्। भन्सार छलेर ल्याउने सबै सामान नियन्त्रणमा लिन मातहतका युनिटलाई डीआइजी केशीले निर्देशन नै दिएका छन्।

कमेन्ट लोड गर्नुस