सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘गौ’ संरक्षणसँगसँगै आम्दानी, अब गोबरको दाउरा बनाउने तयारी

२०८० फाल्गुन २९, १०:०७ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको कृष्ण–मोहन गौशालाले मासिक डेढ लाख भन्दा बढी आम्दानी गर्न थालेको छ।

दूध, गोबर, कम्पोष्ट र गौदानबाट गौशालाले एक लाख पचास हजार भन्दा बढी आम्दानी गर्न थालेको हो। ‘गौ’ संरक्षण सेवा समितिले सामुदायिक रुपमा चलाएको गौशाला आत्मनिर्भर बन्न थालेको छ। सात जनाले रोजगारी पाएको गौशालामा निकट भविष्यमै गौकाष्ठ उत्पादन गरेर बिक्री गर्ने योजना समेत छ। गाई बोझ मात्रै नभएर आम्दानीको स्रोत हो भन्ने तथ्य स्थापित गर्न धनगढी–३ मा रहेको गौशाला उदाहरण बन्न पुगेको छ।

२०७४ को चैतमा समिति गठन भएर २०७५ बैशाखबाट सञ्चालनमा आएको धनगढी–३ स्थित मोहना किनारमा रहेको कृष्ण–मोहन गौशालामा अहिले एक सय ११ गाई छन्। गौ संरक्षण सेवा समिति गठन गरेर संस्थागत रुपमा छाडा छोडिएका गाई पाल्न सुरू गरेको गौशालालाई अहिलेको स्वरुपमा आउन सरकारी तथा सर्वसाधारणबाट सहयोग प्राप्त भएको छ।

सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय दानदाताबाट रकम संकलन गरेर गौशाला स्थापना गरिएको हो। शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला छ। सुरूमा चन्दा तथा दानबाट चलाइएको गौशालामा अहिले भने आफै आम्दानी हुन थालेको छ। दुध, गोबर, मल र गौदानबाट मासिक आम्दानी हुन थालेको गौशालाकी प्रवन्ध निर्देशक रिता अवस्थीले बताइन्।

‘अहिले गौशालामा दैनिक २५ लिटर दुध बिक्रीबाट मासिक ६७ हजार ५ सय आम्दानी भइरहेको छ। गोबर बिक्रीबाट मासिक ५० हजार र गौदानबाट २५ हजार जति आम्दानी भइरहेको छ’, उनले भनिन्, ‘सुरूमा माग्नुपर्ने अवस्था थियो भने अहिले गौशालाबाट आम्दानी हुन थालेको छ। त्यो आम्दानीबाट सात जना कर्मचारीलाई मासिक तलब दिन सहज भएको छ। गौशालाले कम्तिमा सात जनालाई वर्षभरि रोजगारी पनि दिन मिलेको छ।’

सडकमा छोडिएका गाईहरूको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गर्दै गाई व्यवस्थापनको काम सुरू भएको हो। समितिलाई गौशाला निर्माण गर्न र गाईहरूको आहाराको व्यवस्था गर्न सुरूमा धनगढीका विभिन्न ७० जनाले जनही ५१ हजार रुपैयाँ दान उपलब्ध गराएका थिए। गौशालाका लागि १५० जनाले मासिक एक सयदेखि २ हजार एक सय दान गर्दै आएका छन्।

दान दाताबाट आउने रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ। गौशालामा भौतिक निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख, धनगढी उपमहानगरपालिकाबाट १० लाख र तत्कालीन प्रदेश सभा सदस्य डिल्लीराज पन्तबाट ८ लाख बजेट उपलब्ध भएको हो। अहिले गौशालाले दैनिक २५ लिटर दुध बिक्री गरिरहेको छ भने मल किन्न आउने सबैलाई मल उपलब्ध गराउन सकिएको छैन। नदी किनारमा गौशाला हुँदा काजकिरिया गर्नेहरूलाई गौदान गर्न समेत सहज भएको छ।

दुध, गोबर र गड्यौला मल बिक्री गरिरहेको गौशालाले निकट भविष्यमै गोबरबाट गौकाष्ठ अर्थात् गोबरको दाउरा बिक्री गर्ने र आम्दानी बढाउने योजना बनाएको प्रवन्ध निर्देशक अवस्थीले बताइन्। ‘हामीले दुःख पाइरहेका गाईहरूको उद्दार गरेका छौँ भने गाईको दुध र मल पनि स्थानीयलाई उपलब्ध गराएका छौँ। स्थानीयबासी, स्थानीय र प्रदेश सरकारले सुरूमा सहयोग गर्दा अलपत्र छोडिएका गाई गौशालामा ल्याएर पाल्न सहज भएको छ’, अवस्थीले भनिन्।

सर्वसाधारणले गाई सडकमा छाडा छाड्ने प्रवृत्ति गलत भएको ठहर गर्दै सामुदायिक रुपमा गाई पालन गरेर आम्दानी गर्ने र सो आम्दानीबाट सके जति बढी गाई पाल्ने योजना बनाएर धनगढी–३ मा स्थानीय समाजसेवीको अग्रसरतामा गौशाला स्थापना भएको हो। व्यवस्थापन राम्रो गर्न सके गाई पाल्न समस्या नभएको अवस्थीले बताइन्। धनगढी–३ मा रहेको गौशाला आत्म निर्भर हुने बाटोमा अग्रसर छ। गौ संरक्षण समितिले पर्यावरण, धर्म, संस्कृतिसँगै गाई संरक्षण पनि सहजै गर्न सकिने सन्देश दिन खोजेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस