चैतन्य पाठशालाको २३ औँ वार्षिकोत्सव संम्पन्न
धनगढीः धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शिक्षा र संस्कारको संगम भन्ने नारा लिएर अघि बढी रहेको पाठशालाले सोमवार विभिन्न व्यक्तिहरूको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।
वार्षिकोत्सवको स्वागत मन्तव्य व्यक्त गर्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले पूर्वीय ज्ञान परम्परासँगै विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक् सिकाइमा विद्यालय अघि बढी रहेको बताए। वर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै भविष्यका कर्णधारका रूपमा चिनिएका स–साना बालबालिकालाई जीवन उपयोगी सिप, ज्ञान र क्षमताका कुरालाई जोड दिएको बताए।
२३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा वर्षभरि विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै शिक्षक, शिक्षिका, अभिभावक,पत्रकार तथा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको छ।