कैलारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धनगढीः माया मेट्रो अस्पताल र नवजीवन सेवा सङ्घको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर २ मा रहेको राष्ट्रिय माद्यामिक विद्यालयको प्राङ्गणमा सो शिविर शनिवार सम्पन्न भएको हो।
माया मेट्रो हस्पिटलका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा नाक कान घाँटी रोग विशेषज्ञ, दन्त चिकित्सक, हाडजोर्नी विशेषज्ञ सेवा र सिजनल रुघाखोकीका बिरामीलाई निःशुल्क सेवा प्रदान गरिएको थियो भने आवश्यक बिरामीहरूलाई निःशुल्क रूपमा औषधि प्रदान गरिएको थियो।
उक्त शिविरमा करिब ४ सय भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएको अस्पतालका पब्लिक रिलेशन अफिसर आनन्द ऐरले जानकारी दिए। शिविरलाई कैलारी गाउँपालिका,नेपाल नेत्र ज्योति सङ्घ कैलाली,फिडा लगायतका संस्थाको सहयोग रहेको थियो। धनगढीबाट वरिष्ठ चिकित्सकहरू आएर आफ्नै गाउँ घरमा विशेषज्ञ सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुसी व्यक्त गरेका थिए।