सय प्रतिशत सफल भए : पूर्व मन्त्री धामी
धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री रमेश सिंह धामीले सय प्रतिशत सफल भएको दाबी गरेका छन्। धनगढीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै धामीले सय प्रतिशत कार्यकाल सफल भएको तर्क गरेका हुन्। उनले भने, ‘यो काम गर्न पाएन भन्ने छैन। म सन्तुष्ट छु। मैले सय प्रतिशत काम गरेको छु।’
सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नौ महिना रहेका उनले गरेका कामहरूको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन्। पूर्व मन्त्री धामीले उद्योगको क्षेत्रमा ६ वर्षमा नभएको काम भएको बताए। उनले भने, उद्योग प्रशासन चुस्त भएको छ। लगानी प्रवर्धनको व्यवस्था कार्यान्वयनमा गएको छ। लगानी कर्ता आउन सक्ने वातावरण भएको छ। वनमा आधारित उद्योगको दुरीको विवाद हटाएका छौ। साना तथा मझौला उद्योगहरू स्थानीय तहमा जाने भएका छन्।’
उनले पर्यटनको क्षेत्रमा पनि काम गरेको बताए। सुदूरपश्चिमका २० स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा किटान गरिएको पूर्व मन्त्री धामीले बताए। उनले मुख्यमन्त्री पर्यटकीय क्षेत्रमार्फत सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास हुने बताए। उनले भने, पर्यटन प्रशासन राम्रो भएको छ। नौ वटै जिल्लामा नविकरण दर्ताको काम अगाडी बढेको छ। पर्यटन क्षेत्रबाट राजस्व धेरै उठ्ने छ।’
सुदूरपश्चिमका सामुदायिक वनहरूको ढलापडा काठ सङ्कलनको काम चार वर्षदेखि रोकिएकाले अहिले सङ्कलनको निर्णय गरिएको उनले बताए। फागुन २५ गतेबाट काम सुरु हुने उनले जानकारी दिए। सुदूरपश्चिमबाट तीन लाख क्युफिट काठ सङ्कलन हुने तर्क धामीको छ। उनले भने, ‘वनबाट १० करोड राजस्व उठ्छ। वन क्षेत्रमा ठुलो काम भएको छ। दिगो विकास कार्यक्रमको काम अगाडी बढेको छ। चैतमा नै कार्यविधि पास हुने थियो। वन ऐन संशोधनको प्रक्रियामा छ।’ केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएकाहरूलाइ बर्खास्त गरेका थिए।