बैतडीको केदार मन्दिरमा सरसफाइ
धनगढी : बैतडीको केदार मन्दिरमा सरसफाइ गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ को केदार मन्दिरमा सरसफाइ गरिएको हो।
विनायक प्रहरी चौकी, आम्चौरले मन्दिर क्षेत्रमा सरसफाइ गरेको छ। प्रहरीसँगै कनिना गाउँका स्थानीयकोसमेत सरसफाइ कार्यक्रममा सहभागिता रहेको थियो। उनीहरूले बुधवार मन्दिर क्षेत्रमा सरसफाइ गरेका हुन्। आम्चौरमा रहेका सम्पूर्ण धार्मिक तथा सार्वजनिक स्थलहरूमा सरसफाइ कार्यक्रमको आयोजना गरिने भएको छ।
केदार मन्दिरका पुजारीसमेत रहेका वडाध्यक्ष मनिदत्त भट्टसहितको सहभागितामा धार्मिक तथा सार्वजनिक ठाउँहरूमा सरसफाइ गर्ने गरिएको छ। प्रत्येक महिनाको एक गते धार्मिक स्थलहरूमा सरसफाइ गर्ने गरिएको हो। मन्दिरमा सरसफाइ र पूजासमेत गर्ने गरिएको भट्टले बताए।