सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आउने गाई–गोरूका कारण धनगढीका किसान हैरान

२०८० फाल्गुन १३, १०:५७ नारायण अवस्थी

धनगढीः धनगढीको सीमावर्ती गाउँमा भारतबाट आउने सामुदायिक पशुचौपायाका कारण स्थानीय हैरान भएका छन्।

भारतबाट आउने चौपायाका कारण सीमावर्ती गाउँका किसानलाई बालीनाली जोगाउन समस्या भएको छ। दिनभर मोहना नदी पारिको दसगजा क्षेत्रको वन क्षेत्रमा चर्ने चौपाया रात परेपछि वारिको खेतबारीमा पस्ने गरेका छन्। बथानमा आउने चौपायाका कारण सीमावर्ती क्षेत्रमा किसानहरूलाई अन्नबाली जोगाउन गस्ती गर्नुपर्ने भएको छ।

चौपायाका कारण बोर्डर क्षेत्रमा खेतीपाती जोगाउन समस्या भएको वडा नम्बर ९ को शिवरामनगर टोलका प्रजापति बिष्टले बताए। उनले घरबाट छोडिएका गाई/गोरूले हरेक वर्ष अन्नबाली सखाप गर्ने गरेको गुनासो गरेका छन्। धनगढी उपमहानगरपालिकाको चार ठाउँमा गौशाला सञ्चालनमा छन्। फूलबारी, बेहडाबाबा र देवहरियामा उपमहानगरले गौशाला व्यवस्थापन गरेको छ भने वडा नम्बर ३ मा समुदायबाट गौशाला चलाइएको छ।

धनगढी नगर क्षेत्रमा छोडिएका गाईहरू गौशालामा लैजाने गरिन्छ। तर नगरबासीले दिनदिनै चौपाया छोड्ने क्रम नरोकिदा बजार तथा ग्रामीण क्षेत्रमा चौपाया अझै देखिन्छन्। सामुदायिक चौपायाका कारण सबैभन्दा बढी समस्या किसानहरूलाई भएको छ। धनगढीमा गाई व्यवस्थापन केही हदसम्म भए पनि सीमावर्ती गाउँहरूमा भारततर्फबाट आउने चौपायाले बालीनाली खाएर दुःख दिन थालेको किसानको गुनासो छ।

सीमावर्ती गाउँहरूमा भारतबाट रातिको समयमा आउने चौपायाका कारण रातभरि गस्ती गर्नुपरेको धनगढी उपमहानगरपालिका–१८ का स्थानीय डिल्लीराज मिश्रले बताए। ‘फूलबारी क्षेत्रको तीनवटै वडाको सीमावर्ती गाउँमा चौपाया आतङ्क छ। भारतबाट दशगज क्षेत्रमा चौपाया चराउने बाहनामा ल्याउने र छोड्ने गर्छन्’, उनले भने, ‘त्यता छोडिएका चौपाया वारि आएर गहुँ, मसुरो र धान खाने गर्छन्। नेपालको गाईहरू गौशालामा छन् तर भारतबाट आउने गाई धपाउन राती गस्ती गर्नुपरेको छ।’

धनगढीको वडा नम्बर १८ सहित वडा नम्बर १४ र १९ तथा  वडा नम्बर ९, १० र १२ मा भारतबाट आउने चौपायाका कारण किसानलाई खेती जोगाउन समस्या भएको छ। दिनमा भारततर्फको जङ्गलमा लुक्ने चौपाया रातिको समयमा खेतबारीमा पस्ने गरेको वडा नम्बर ९ का वडा सदस्य नवराज भट्टले बताए। ‘धानको सिजना धान अहिले गहुँ र मसुरो खाएर सखाप पार्छन्। वडा नम्बर ९ को शिवरामनगर टोल र गौरीपुर शैलेश्वरी टोलमा बढी समस्या छ।’

भारतबाट बथानमा आउने चौपायाले धान,गहुँ र मसुरो जस्ता खाद्यान्न बालीमा नोक्सान गर्ने गरेको किसानहरूको गुनासो छ। केही गाउँमा स्थानीयले रातभर चौपाया धपाउन गस्ती गर्नुपरेको बताएका छन्। सीमावर्ती गाउँहरूमा भारतबाट आउने चौपायाको आतंक रोक्न तारबार गर्न स्थानीयले आफूलाई दबाब दिने गरेको वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले बताए।

‘भारतबाट राती बथान आउँछन्, धपाउन गयो भने चित्तल भागे जस्तै भाग्छ्न्’, उनले भने, ‘सीमावर्ती गाउँका किसान एकदमै परिशान छन्। वडा आएर तारबार लगाउन भन्छन; दशगजा क्षेत्रमा तारबार कसरी लगाउने? भारतबाट आउने गाई–गोरु बथानमा आएर खेतबारी पस्ने गरेको स्थानीयको गुनासो छ। रातिको समयमा आउने चौपाया सानो आवाज सुन्ने र टर्च बाल्ने बित्तिकै मृग जस्तै भाग्ने गरेको किसानहरूको भनाइ छ। जसका कारण चौपाया समातेर गौशालासम्म पुगाउन समस्या भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस