आइसिसी क्रिकेट लिग–२ मा नामिबियासँग नेदरल्यान्ड्स पराजित
काठमाडौँः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन बनायो। जितका लागि दुई सय चार रनको लक्ष्य पच्छाएको नेदरल्यान्ड्स ४३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनमा समेटियो।
नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्का हाने। यसैगरी मलान क्रुगरले ३९, ज्यान फ्राई लिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ तथा जान ग्रिनले २२ रन बनाए। कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले तीन, आर्यन दत्त र रुलफÞ भ्यान डर मर्वाले दुई दुई तथा शारिज अहमद र बास डे लिडले एक एक विकेट लिए। जितसँगै नामिबियाले चार खेलमा ६ अङ्क जोडेको छ। नामिबिया लिग–२ को शीर्षस्थानमा उक्लिएको छ। नेपाल र नेदरल्यान्ड्सको भने तीन खेलमा दुई दुई अङ्क छ। अब जारी शृङ्खलाको अन्तिम खेल नेपालले नेदरल्यान्ड्ससँग यही फागुन १३ गते खेल्नेछ।