राहुलरामको बैदेशिक रोजगारीको सपना खोलामै बिलायो
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुलराम कामी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।
बैतडीको मेलौली नगरपालिका–२ दुर्गास्थान मुल घर भएका २७ वर्षीय राहुलराम कामीको त्यो सपना संघी राजधानी नपुग्दै खोलामै बिलाउन पुगेको छ। फागुन ३ गते बस दुर्घटनामा परेर उनको मृत्यु भएको हो। शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो। त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए। तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन्।
बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाएका हुन्। वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने सपना कपिलवस्तुको सुरही खोलामा बिलाएको छ। भीमदत्त नगरपालिका–१ का वडा सदस्यसमेत रहेका राहुलका छिमेकी भोजराज पाण्डेयका अनुसार उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा बसेर फर्केका थिए। डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए।
आमा सीता र श्रीमती बबिता घटना सुनेपछि बेहोस छन्। राहुलका ५ वर्षका छोरा र १ वर्षकी छोरी छन्। वडा सदस्य पाण्डेयका अनुसार दुर्घटनामा बाह्रकुण्डाकै खगेश्वरी खातीको पनि मृत्यु भएको छ। एउटै टोलमा दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ। कपिलवस्तु दुर्घटनामा कञ्चनपुरका सात जनाको मृत्यु भएको छ।
जसमध्ये भीमदत्त नगरपालिकाका मात्रै ५ जना छन्। दुर्घटनामा पुनर्वास नगरपालिका–९ बिचफाँटाका एउटै परिवारका दुई जनाको मृत्यु भएको छ। किसन भट्ट र विमलादेवी भट्ट दुवै श्रीमान–श्रीमती हुन्। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माका अनुसार उनीहरू दुवै काठमाडौंमा बस्ने छोराबुहारी भेट्न जाँदै थिए।