सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुटवलस्थित सुप्रिम सहकारीका अध्यक्ष र शाखा प्रमुख पक्राउ

२०८० फाल्गुन ५, १२:२३ खबर संवाददाता

रुपन्देहीः वचतकर्ताको करिब सवा १ अर्ब रूपैयाँ हिनामिना गरेको बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

वचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र वचतकर्ताको उजुरीपछि अध्यक्ष गुरूङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

प्रहरीले अध्यक्ष गुरूङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएपछि मात्रै सूचना सार्वजनिक गरेको हो। रूपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३ सय ९१ जना वचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रूपैयाँ हिनामिना गरी विगत एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबी) राई भने सम्पर्कबिहीन छन्।

सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रूपैयाँ ऋण दिएको थियो। राईले आफूआबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न पाँचवटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ ६० रूपैयाँ, जिपी ग्रुप एन्ड कम्पनी लिमिटेडमा विभिन्न सात वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २० रूपैयाँ र स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा तीनवटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ ऋण लगेका थिए।

कमेन्ट लोड गर्नुस