सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन मन्त्री धामीको इन्ट्रेस्टमा गठित सिद्धार्थ वनको उपभोक्ता समूह नै फर्जी

२०८० माघ २२, १०:३८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीको इसारामा गठित धनगढी उपमहानगरपालिका–१४ को सिद्धार्थ सामुदायिक वन उपभोक्ता समूह फर्जी भएको पुष्टि भएको छ।

वन मन्त्री धामी निकट  एवं माओवादी कार्यकर्ता रहेकी निवर्तमान अध्यक्ष टुन्नीदेवी चौधरीले तीन वर्षसम्म साधारण सभा राख्न नसकेको भन्दै उपभोक्ता समूहका १७८ जना सदस्यले गत पुस २१ मा विशेष साधारण सभा राखेर स्थानीय लालबहादुर चौधरीलाई वन उपभोक्ता समूहको अध्यक्ष चयन गरेका थिए। चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन भएपछि त्यसलाई काउन्टर दिन टुन्नीदेवी समूहले स्थानीय भीमबहादुर तोलाङ्गीको अध्यक्षता अर्को समिति गठन गरेर बखेडा झिकेको थियो।

उपभोक्ता समूहको अध्यक्ष हुँदा काठ व्यवसायीबाट लिएको रकमको हिसाबकिताब मिलाउन सहज होस् भन्ने हेतुले वन मन्त्री धामीको इसारामा टुन्नीदेवी समूहले भीमबहादुरको अध्यक्षमा आफू अनुकुल मान्छे राखेर समिति गठन गरि त्यही समितिलाई वैधानिकता दिन जोडबल गरेको खुल्न आएको छ। लालबहादुर चौधरीको नेतृत्वमा गठित समिति वन उपभोक्ता समूहको विधानअनुसार भए पनि त्यो समितिलाई सव–डिभिजन वन कार्यालयबाट सिफारिस र डिभिजन वन कार्यालय धनगढीमा दर्ता हुन रोक्ने काम भएको छ।

वैध समितिलाई पाखा लगाएर अवैध समितिलाई दर्ता गर्ने मेलोमेसो मिलाउन वन मन्त्री धामीले वन अधिकारीहरूलाई दबाब दिएको बुझिएको छ। वन अधिकारीहरूले माथिको दबाबका कारण नियमअनुसार लालबहादुर चौधरी नेतृत्वको समितिलाई सिफारिस र दर्ता गर्न नसकिएको बताउने गरेका छन्।

जसरी पनि भीमबहादुर तोलाङ्गी अध्यक्ष रहेको समितिलाई वैध बनाउने योजनाअनुसार वन मन्त्रीकै निर्देशनमा सव–डिभिजन वन कार्यालय फूलबारीले भीमबहादुर तोलाङ्गी समूहलाई आइतवार सनाखत गर्न कार्यालयमा उपस्थिति हुने सूचना निकालेको थियो। माघ ८ गते गणपुरक संख्या नपुगेर स्थगित भएको भनिएको फर्जी साधारण सभा माघ १४ गते राख्ने भन्दै टुन्नीदेवी समूहले माघ १२ गते राति ११६ जना सदस्य उपस्थिति भएको माइन्युट खडा गर्दै भीमबहादुरको अध्यक्षतामा समिति गठन गरेको हो।

तर, त्यो समिति वैध नभएको लालबहादुर चौधरी समूहले दाबी गर्दै आएको थियो। आइतवार ११६ जनालाई सनाखत गर्न बोलाउँदा केबल ५१ जना मात्रै उपस्थिति हुन सकेको पाइएको छ। भीमबहादुर तोलाङ्गी समूहका ५१ जना मात्रै सनाखत गर्न उपस्थित भएको वन अधिकृत श्यामसुन्दर माझीले बताए। उनले थप प्रक्रियाका लागि डिभिजन वन कार्यालय धनगढीमा फायल पेस गर्ने बताए।

१४ नम्बर वडा कार्यालयका प्रतिनिधि वडा सदस्य कृष्णादेवी दमाई र सव–डिभिजन वन कार्यालय फूलबारीका तीन जना प्रतिनिधिको रोहवरमा गठित लालबहादुर चौधरी नेतृत्वको वन उपभोक्ता समूहलाई वडा कार्यालयले सिफारिस दिएको छ। तर, सबै प्रक्रिया पूरा गरेर गठित समूहलाई वन मन्त्री धामीले दर्ता नगर्नू भनेका कारण दर्ता नगरिएको बुझिएको छ। तर, वन मन्त्री धामीले भने उपभोक्ता समूह गठनमा आफूले कुनै चासो नलिएको बताउँदै आएका छन्।

सनाखत गर्न बोलाउँदा ११६ जनामा ५१ जना मात्रै पुगेपछि भीमबहादुर तोलङ्गी अध्यक्ष रहेको समूह फर्जी भएको प्रमाणित भएको दाबी लालबहादुर चौधरी समूहको छ। उनीहरूले वन समूहको विधान र प्रक्रिया अनुसार गठित आफूहरूको समिती नै वैध भएको जिकिर गरेका छन्। उपभोक्ताहरूले गाउँको कुरामा मन्त्री र मन्त्रालयले खोल्न खोजेको बताएका छन्।

No description available.

No description available.

No description available.

No description available.

No description available.

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस