यु–१९ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित
नेपालले बङ्गलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानमाथि कठिन जित निकालेको छ।
ढाकाको विएसएसएस रङ्गशालामा आइतवार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो। नेपालको जितमा सेनु परियारले ५४औँ मिनेटमा गरेकोे गोल निर्णायक बन्यो। यसअघि शुक्रवार भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो।
भुटान भने पहिलो खेलमा भारतसँग १०–० गोलले पराजित भएको थियो। दोस्रो हारसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अब लिग चरणको अन्तिम खेल मङ्गलवार भारतसँग खेल्नेछ। शीर्ष दुई टोलीबिच फाइनल हुनेछ।