सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरआवासीय नेपाली संघद्धारा सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

२०८० माघ ११, ०९:४५ खबर संवाददाता

धनगढीः गैरआवासीय नेपाली संघले कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

सेती प्रादेशिक अस्पतालमा विहिवार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्रि केसी नेतृत्वको टोलीले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो। सवा एक करोडभन्दा बढीको लागतमा संघले अस्पताललाई सहयोग गरेको प्लान्टको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद र संघका अध्यक्ष डाक्टर केसीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री साउँदले सहयोगका लागि संघलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरे। उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए। मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न समेत एनआरएनएलाई आग्रह गरेका थिए।

प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाहले संघको सहयोगले स्थापना भएको अक्सिजन प्लान्ट पछि अब यहाँ अक्सिजन अभावमा बिरामीको मृत्यु हुने अबस्थाको अन्त्य हुने बताए। संघका अध्यक्ष डाक्टर बद्रि केसीले सेती र महाकाली प्रादेशीक अस्पतालमा अक्सिजन प्लान्ट सहयोग गरेको र सहकार्य गर्न संघ तयार रहेको बताए। उनले बिदेशमा बसेर पनि नेपाल आमाको गुन तिर्न सकौ भनेर विभिन्न सहयोग र सहकार्य गरिरहेको बताए।
 

कमेन्ट लोड गर्नुस