सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटमा कोसी सुदुरपश्चिमसँग आठ विकेटले पराजित

२०८० माघ १०, ०४:५० खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश सुदुरपश्चिमसँग पराजित भएको छ।

आज (बुधवार) भएको खेलमा कोसी सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजित भएको हो। कोसीले दिएको १ सय २४ रनको लक्ष्य सुदुरपश्चिमले २१.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। सुदूरका लागि नरेन भट्ट ५४ र प्रकाश पाण्डे ३४ रनमा अविजित रहे। ४९ बलको सामना गरेका नरेनले ७ चौका मद्दतमा ५४ रनमा नटआउट रहे। प्रकाशले ४२ बलमा १ चौका हान्दै ३४ रन बनाए। कप्तान राजु रिजाल २१ रनमा क्याच आउट भए। खडक बोहोराले ९ रन बनाए।

कोसीका फिर्दोस अन्सारीले २ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशी प्रदेश ३२ ओभरमा १ सय २३ रनमा अलआउट भयो। कोसीलाई रोक्न घातक बलिङ गरेका शेर मल्लले ५ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २८ रन खर्चे। विकासले ७ ओभरमा १ मेडन राख्दै ४ विकेट झार्दा मात्र ९ रन दिए। कोसीमाथि जित निकालेसँगै सुदूरपश्चिम ८ अंकका  साथ तालिकाको दोस्रो स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस