परशुुराममा शैक्षिक प्रमाणपत्र धितो राखेर विनाब्याज ५ लाख ऋण लिन पाइने
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ।
नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उक्त कर्जा दिन लागेको हो। नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई एसईई परीक्षाको प्रमाणपत्र धितो राखेपछि उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा उपलब्ध गराइने नगरप्रमुख भरत बडायर जोशीले बताए।
स्वदेशमै उच्च शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४ औं नगरसभाबाट ऐन समेत पारित भएको उनले बताए। कर्जा लिन विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने छ। यस्तो ऋण एक परिवारको एक जनाले मात्रै पाउने व्यवस्था गरिएको छ। यसरी प्राप्त हुने कर्जा विद्यार्थी एकमुुष्ट वा किस्तामा पाउने छन्।
ऋण दुरूपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग गरे मापदण्ड अनुसार कारवाहीको व्यवस्था पनि गरिएको नगरप्रमुख जोशीले बताए। उपलब्ध हुने कर्जा रकम व्यक्तिको खातामा नभई जुन ठाउँमा विद्यार्थी अध्ययन गरिरहेको छ त्यहि शैक्षिक संस्थाको खातामा नगरपालिकाबाट रकम जम्मा गरिने छ।