सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वडा कार्यालयले खरिद गरेका बल्ब गुणस्तरहिन, नयाँ जडान गर्न आलटाल

२०८० माघ ७, ०६:४० कमल सावद

धनगढीः कैलालीको धनगढीमा वडा कार्यालयबाट खरिद गरिएका गुणस्तरहिन सडक बत्ती अझै फेरिएका छैनन्।

ठेक्का सम्झौता गरेका तीनवटा वडाले जडान गरेका बत्ती मात्र गुणस्तरीय रहेको पुस्टि भएको हो। बाँकी नौवटा वडा कार्यालयहरुले जडान गरेका सडक बत्ती गुणस्तरहीन रहेको भन्दै उपमहानगरपालिकाले नयाँ जडान गर्न निर्देशन दिएको थियो। तर, वडा कार्यालयहरुले निर्देशनको पालना अझै गरेका छैनन्। धनगढीमा झण्डै ६० लाखका सडक बत्ती गुणस्तरहिन रहेको खुलेको थियो। 

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नम्बर १ को कार्यालयले सडक बत्तीका लागि १७ लाख विनियोजन गरेको थियो। सडक बत्तीका लागि बजेट धेरै भएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले बोलपत्र आह्वान गरेको थियो। वडा नम्बर १ मा गोपाञ्जल सप्लायर्सले बत्ती जडानका लागि ठेक्का पायो। सीजी एलइडी १५ वाटका बल्ब स्वीकृत भएका छन। तर, सोही फर्मले आपूर्ति गरेका आरसीटी ५० वाटका सडक बत्ती अस्वीकृत भएका छन्।

अस्वीकृत भएका सडक बत्ती गोपाञ्जल सप्लायर्सले फर्नुपर्ने छ। तर, मंसिर दोस्रो साता वडालाई धनगढी उपमहानगरपालिकाको कार्यालयले पत्रचार गरेको भए पनि बत्ती फेर्ने काम भएको छैन्। वडा नम्बर २ को कार्यालयले सडक बत्तीका लागि ९ लाख २ हजार बजेट विनियोजन गरेको थियो। वडा कार्यालयले ठेक्का गर्दा सात लाख ७८ हजारमा सम्झौता भएको थियो।

ओमप्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले सडक बत्ती जडानको ठेक्का पाएको थियो। लिडर एलइडी १५ वाटका बल्ब र अल्ट्रा टिच १५ वाटका एलइडी बल्ब तथा ५० वाटका सडक बत्ती जडानका लागि ठेक्का भएको थियो। तर ५० वाटका सडक बत्ती मात्र स्वीकृत भएका छन्। १५ वाटका दुबै कम्पनीका सडक बत्ती अस्वीकृत भएका छन्।

वडा नम्बर २ ले खरिद गरेका लिडर र अल्ट्रा दुबैका १५ वाटका बल्क अस्वीकृत भएका छन्। तर, अस्वीकृत भएका सडक बत्तीहरु भने फेरिएका छैनन्। वडाध्यक्ष धर्म ओझाले सडक बत्ती नफेरिएकाले भुक्तानी नदिएको बताए। वडा नम्बर ३ ले १० लाख रुपैयाँ सडक बत्ती जडानका लागि विनियोजन गरेको थियो। वडा बत्ती आपूर्तिका लागि ओमप्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले ठेक्का पाएको थियो। 

उक्त फर्मले आपूर्ति गरेका लिडर र अल्टा १५/१५ वाटका बल्ब गुणस्तरहीन रहेको पुस्टि भएको थियो। आपूर्तिकर्ताले बल्ब फिर्ता लिएको छैन। वडाअध्यक्ष राजबहादुर ऐरका अनुसार जडान भएका बत्ती खोलिएका पनि छैनन्।आपूर्तिकर्ताले बल्ब नफेरेकाले भुक्तानी नदिएको बताए। वडा नम्बर ४ ले पाँच लाख १४ हजारमा खरिद गरेका बल्बसमेत अस्वीकृत भएका छन्।

लिडर र अल्ट्रा कम्पनीका १५ वाटका बल्ब अस्वीकृत भएका छन्। तर ठेक्का गरेर जडान गरेका ५० वाटका सडक बत्ती भने स्वीकृत भएका छन्। वडा नम्बर ६ मा जडान गरिएका १५ वाटका सीजी एलईडी बल्ब भने स्वीकृत भएका छन्। न्यू बाबा बिजुली भण्डारले आपूर्तिको ठेक्का पाएका वडाका बल्ब स्वीकृत भएका छन्।

वडा नम्बर ७ मा १५ वाटका ब्राइट एलइडी, वडा नम्बर ८ मा १६ वाटका ब्राइट एलइडी र वडा नम्बर ११ मा पनि ब्राइट एलइडी बल्ब जडान गरेको उग्रतारा ट्रेड लिंकका सबै बल्ब रद्द भएका छन्। वडा नम्बर ७ का अध्यक्ष मोती रानाका अनुसार तीन लाख सडक बत्तीका लागि विनियोजन गरिएको थियो। गुणस्तरहिन बल्ब प्रयोग भएकाले भुक्तानी रोकिएको उनले बताए। गुणस्तरहिन बल्बका विषयमा छलफलसमेत नभएको उनले बताए।

वडा नम्बर ८, र ११ मा पनि उग्रतारा ट्रेड लिंगले बल्ब आपूर्तिको ठेक्का पाएको थियो। वडा नम्बर ८ ले पाँच लाख, वडा नम्बर १० ले चार लाख ७५ हजार र वडा नम्बर ११ ले एक लाख ५० हजार रुपैयाँ सडक बत्ती जडानका लागि बजेट विनियोजन गरेका थिए। वडा नम्बर १० मा १५ वाटका लिडर एलइडी बल्ब आपूर्ति गरेको आर्या ट्रेड्ङि एण्ड सप्लायर्सका बल्बहरु पनि अस्वीकृत भएका छन्।

वडा नम्बर ८ का अध्यक्ष जागुराम चौधरीले आपूर्तिकर्ताले भुक्तानी माग गर्दै आएको बताए। वडा नम्बर ११ का अध्यक्ष रुपबहादुर कुँवरले जडान गर्नेहरुलेसमेत भुक्तानी नपाएको बताए। वडा नम्बर १३ मा जय काफली बिजुली भण्डारले जडान गरेका १५ वाटका बल्ब भने स्वीकृत भएका छन्। वडा नम्बर १४ मा ओम प्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले जडान गरेका १५ वाटका लिडर र १५ वाटकै अल्ट्राका बल्ब रद्द भएका छन्। तर, आपूर्तिकर्ताले भुक्तानी नपाएको भएपनि सडक बत्ती फेरेका छैनन्।

वडा नम्बर  १४ का अध्यक्ष मानबहादुर विष्टले दशैँ भन्दा पहिला नै बत्ती जडान गरेको बताए। तर जडान गरेका बत्ती फेरिएका छैनन्। १९ वडा कार्यालय मध्ये ११ वडाले ठेक्का मार्फत सडक बत्ती जडान गरेका थिए। नौवटा वडा कार्यालयहरुले जडान गरेका बत्ती गुणस्तरहीन भएको प्राविधिक परीक्षणबाट पुस्टि भएको थियो। यता, धनगढी उपमहानगरपालिकाको कार्यालयले अस्वीकृत भएका सडक बत्तीको भुक्तानी दिन नहुने भन्दै पत्र पठाएको छ। गुणस्तरहीन सडक बत्तीको भुक्तानी दिए भ्रष्टाचार ठहर हुने तर्क धनगढी उपमहानगरपालिकाको छ। धनगढी उपमहानगरपालिकाले जडान गरेको चौराह–भन्सार र क्याम्पस चौक हुलाकी राजमार्गका स्मार्ट सडक बत्तीहरु भने फेर्न सुरु गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस