गभर्नरको नक्कली व्हाट्सएप चलाउने व्यक्तिको पहिचान खुल्यो
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ।
९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले जानकारी दिए। ‘उक्त नम्बर छेदु चमारको नाममा रहेका खुलेको छ’, उनले भने, ‘तर उनलाई व्हाट्सएप चलाउन नआउने रहेछ।’
खड्गीका अनुसार उक्त नम्बर अर्कै व्यक्तिले चलाइरहेको देखिएको छ।
राष्ट्र बैंकले गत आइतवार एक सूचना प्रकाशित गर्दै गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेर व्हाट्सएप सञ्चालन गरिएको जानकारी दिएको थियो। गभर्नर अधिकारीले बिहीबार मात्रै ब्यूरोमा त्यसविरुद्ध जाहेरी दिएका थिए।