राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारी दर्ता
काठमाडौं: राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।
मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने छ।
२७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारलाई निर्वाचन चिह्न भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ। निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र कायम गरिएको छ। मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ।