प्रधानमन्त्री कप : सुदूरपश्चिम आठ विकेटले पराजित
धनगढीः प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीवार खेलिएको खेलमा सुदूरपश्चिम पराजित भएको छ। कोशी प्रदेशसँग सुदूरपश्चिम प्रदेश आठ विकेटले पराजित भएको हो।
६ खेल खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो दोस्रो हार हो। चार खेलमा भने सुदूरपश्चिम प्रदेश विजयी भएको छ । जितसँगै कोशी प्रदेश प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने निश्चित भएको छ। यसअघि एपीएफ क्लब पनि प्रतियोगिताको अघिल्लो चरणमा पुगिसकेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले १७ दशमलव ४ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्मी पूरा गरेको हो।
कोशी प्रदेशका लागि दुई ब्याट्रले अर्धसतकीय पाली खेले। कप्तान रुविना क्षेत्रीले अविजित ५१ रन बनाइन्। ओपनर रुबिनाले ५५ बलमा एक छक्का र आठ चौका पनि हिर्काइन्। अर्की ओपनर काजल श्रेष्ठले ५४ रन जोडिन् । उनले ४८ बलमा आठ चौका हिर्काइन्।
सुदूरपश्चिमकी बलर अनु कडायतले दुई विकेट लिइन्। त्यसअघि सुदूरपश्चिमका लागि ओपनर बिन्दू रावलले ३३, सम्झना खड्काले २७, कविता जोशीले अविजित २६ र रेवती धामीले अविजित २० रन बनाएका थिए । कोशीका बलर सबनम राई र अप्सरी बेगमले एक–एक विकेट लिए।