सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा महेन्द्र राजमार्ग टालटुल पारिदै

२०८० मंसिर ३०, ०६:३० कमल सावद

धनगढीः कैलाली र कञ्चनपुरमा महेन्द्र राजमार्गलाई पटके मर्मत गर्न थालिएको छ।

कैलालीको लम्कीदेखि अत्तरिया र कञ्चनपुर क्षेत्रमा गरेर झण्डै ८५ किलोमिटर राजमार्ग टालटुल गर्ने काम सुरु गरिएको हो। सडकमा परेका खाल्डा पुर्न सडक डिभिजन कार्यालय, महेन्द्रनगरले ठेक्का लगाएको सडक डिभिजन कार्यालय, कञ्चनपुरका इन्जिनियर तारानाथ सिक्देलले बताए। उनले भने, ‘ठेक्का छ।

अहिले लम्कीबाट अत्तरिया र कान्लापुलबाट खड्डाचौकीसम्म ठेक्का गरिएको हो। कञ्चनपुरमा १२ किलोमिटर मात्र कालोपत्रका लागि ठेक्का लगाइएको छ।’ तीन महिनामा सडक मर्मतको काम पूरा गर्नुपर्ने सम्झौता छ। ‘खाल्डा पुर्ने काम मात्र हो। म्यादसमेत तीन महिनाको मात्र हुन्छ। तीन महिनामा काम पूरा गर्ने हो। एक वर्षमा दुई पटक ठेक्का हुन्छ। साना खाल्डा पुरिएन भने ठुलो हुन्छ। डोर टालियो भने, ठुलो खाल्डा हुन पाँउदैन,’ उनले भने।

राजमार्गमा परेका साना खाल्डाका कारण ठुलो क्षति हुन नदिन तीन खण्डमा काम थालिएको छ। एक खण्डमा झण्डै ४० लाख रुपैया सडक मर्मतमा खर्च हुँदैछ। ८५ किलोमिटर सडक मर्मतका लागि झण्डै एक करोड २० लाख रुपैयाँ खर्च हुने कार्यालयले जनाएको छ। सडकमा परेका साना खाल्डाका कारण दुर्घटना हुने र खाल्डामा पानी गएपछि सडकमा धेरै क्षति हुने भन्दै मर्मत थालिएको डिभिजन कार्यालयले बताएको छ।

इन्जिनियर सिक्देलले पुससम्म म्याद रहेको बताए। पटके मर्मतका लागि मात्र काम थालिएको उनले बताए। महेन्द्रराजमार्ग २०२२ सालमा तत्कालिन राजा महेन्द्रले उद्घाटन गरेका थिए। २०२२ सालपछि कैलाली र कञ्चनपुरमा राजमार्ग समय–समयमा टालटुल गर्ने काम मात्र हुँदै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस