कैलालीको कैलारीमा १२ हजारको फूलको बिउबाट एक लाख आम्दानी
धनगढी: कैलालीको कैलारी गाउँपालिकामा सामूहिक फूल खेती गरिएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँ (मनहेरा टोल)मा पहिलो पटक समूहिक फूल खेती गरिएको हो।
स्थानीय ११ जना महिलाले मिलन उन्नति कृषक समूह गठन गरेर व्यावसायिक फूल खेती गरेका हुन्। गाउँपालिकामा पहिलो पटक सामूहिक फूल खेती गरिएको दाबी उनीहरूको छ। १२ हजारमा खरिद गरेको फूलको बिउबाट महिला समूहले एक लाख २ हजार आम्दानी गरेका छन् भने तिहारको समयमा आफूलेसमेत फूलका माला प्रयोग गरेका छन्। मिलन उन्नति कृषक समूहकी अध्यक्ष रामपत्तीदेवी चौधरीले दुई कट्टा खेतमा लगाएको फूलबाट राम्रो आम्दानी भएको बताइन। उनले भनिन, ‘दुई कट्टामा फूल खेती लगाएका छौँ। साहस नेपालले फूलको बिउ दिएको हो। हामीले काम गरेका हौँ।’
साहस नेपाल नामक संस्थाले १२ हजारको फूलको बिउ सहयोग गरेको थियो। संस्थाले प्राविधिक सहयोगसमेत गरेको हो। कर्मा ५५५ जातको सयपत्रीको फूलको खेती गरेका महिलाहरूले तिहार, दसैँ र अहिले पनि फूल बिक्री गर्दैछन्। सोमवार पनि ४० किलोग्राम फूलको माग आएको चौधरीले बताइन्। उनले भनिन्, ‘तिहारमा मात्र ७५ हजारको फूल बिक्री गरेका थियौँ। २१५ किलोग्राम फूल २७५ रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरेका हौँ। ३९ किलोग्राम फूल ३५० रुपैयाँ प्रतिकिलोग्रामका दरले बिक्री गरेका थियौँ। तिहारपछि एक क्वीन्टल फूल बिक्री गरेका छौँ। अहिले भने एक सय रुपैयाँ प्रतिकिलोग्राममा फूल बिक्री गर्दै आएका छौँ।’
साहस नेपालको स्थानीय प्रयासमा खाद्य सुरक्षा रूपान्तरण परियोजनाका परियोजना अधिकृत नरेश चौधरीले कैलाली गाउँपालिकामा फूलको बिउ, तरकारी खेतीका लागि प्लास्टिकका टनेल र गोठ सुधार कार्यक्रम लागु गरेको बताए। उनले कैलारी गाउँपालिकाका वडा नम्बर १,३,४,७ र ८ मा साहस नेपालले सहयोग गर्दै आएको बताए। उनले कृषक समूहहरूले २५ प्रतिशत लगानी गर्दै आएको बताए।