क्षेत्रीय सहरीका सडकको डिपीआरमै त्रुटि, धनगढीमा ६० वाटका बल्ब खारिज
धनगढीः कैलालीस्थित धनगढीामा क्षेत्रीय सहरी विकासमार्फत सडक निर्माण गर्न गरिएको डिपीआरमा नै त्रुटि भएको फेला परेको छ। धनगढी उपमहानगरपालिका भित्र १० किलोमिटर सडक निर्माणका लागि गरिएको विस्तृत योजना प्रतिवेदन (डिपीआर)मा त्रुटि भएको फेला परेको हो।
क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका अनुसार सात वटा सडकको १० किलोमिटर क्षेत्रमा बल्ब जडान गर्न स्वीकृत गरिएको डिपीआरमा नै त्रृटि देखिएको छ। क्षेत्रीय सहरी विकास आयोजना धनगढीका सूचना अधिकारी शौरव कलौनीका अनुसार डिपीआरमा रहेका ६० वाट क्षमताका बल्क काम नलाग्ने भएपछि खारिज गरिएको छ। धनगढीको राष्ट्र बैँकदेखि पिपलचौतारासम्म जडान गरिएको बल्क काम नलाग्ने भएपछि योजना थप गरिएको हो।
धनगढी उपमहानगरपालिकाको निवेदनका आधारमा कम उज्यालो हुने बल्बहरु खारिज गरिएको छ। विद्युतका पोलहरुसमेत खारिज गरिएको कलौनीले बताएका छन्। उनले भने, ‘हामीले भेरिफिकिसन गरेका छौ। चौडाबाटामा दुबोको काम थियो। स्टेट लाइट खारिज गरिएको छ। पहिलाको डिपीआरबाट स्वीकृत गरिएको बल्ब प्रयोग नगर्ने भएका छौ। नयाँ हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडान गर्ने भएका छौ।’
क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीका अनुसार बत्ती, बिरुवा र चिनीया दुबो रोप्ने काम थप गर्न प्रक्रिया थालिएको हो। उनले भने, ‘हामीले फाइल पठाएका छौ। तर, स्वीकृत भएको छैन। नयाँ फाइल स्वीकृत नभएपनि ६० वाटका बल्ब जडान नगर्ने कुरा भएको छ।’ धनगढीमा निर्माण थालिएका सातवटा सडकमा १५ वटा हाइमास्ट तथा १० किलोमिटर स्मार्ट स्ट्रीट लाइट जडान, वृक्षारोपण र चिनियाँ दुबो लगाउने काम थप गर्न निवेदन गरिएको हो।
धनगढी उपमहानगरपालिकाको माग अनुसार कन्सल्टेन्सीले आयोजना कार्यान्वयन इकाईलाई दिएको फाइल केन्द्र पठाइएको हो। तर, स्वीकृत भएको छैन। हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडान गर्न स्वीकृतका लागि समय लागे थप गरिएको समयमा समेत सडकको काम पूरा नहुने निर्माण कम्पनीको दाबी छ। कालिका कन्स्टक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलका अनुसार १२० वाट क्षमताका बल्बसहितको स्मार्ट स्ट्रीट लाइट जडानको लागि स्वीकृत पाइएको छैन।
कात्तिक अन्तिमसम्म सडक निर्माणको समय छ। थप गरिएको कामको स्वीकृत पाएको कम्तीमा तीन महिनामा मात्र बत्ती जडानको काम सकिने निर्माण कम्पनीले बताएको छ। सडक निर्माण, खानेपानी र विद्युतका पोल सार्ने काम भने निर्माण कम्पनीले अन्तिम चरणमा पुगेको बताएको छ। तर, क्षेत्रीय सहरी विकासले ८२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताएको छ। उनले भने, ‘भौतिक ८२ प्रतिशत छ। आर्थिक प्रगति ६२ प्रतिशत छ। १० दशमलव ६८७ किलोमिटरमा ८ दशमलव २ कालोपत्र भएको छ। बाँकी कालोपत्र गर्न बाँकी छ। एक किलोमिटरको बेसमेत निर्माणको काम बाँकी छ।’ धनगढीको चौराहदेखि कैलाली नालासम्मको पूरा सडक अहिलेसम्म कालोपत्रको काम सुरु भएको छैन।
एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण लगानीमा निर्माण ३१ अक्टोबर २०२३ सम्म समय थप भएको छ। क्षेत्रीय सहरी विकास र कालिका कन्स्ट्रक्सबिच सन २०२० जुलाई १२ तारिक अर्थात २०७७ असार २८ मा सडक कालोपत्र गर्न सम्झौता भएको थियो। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो।