सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकको सम्झौता अवधी डेढ वर्ष थप्न माग

२०७६ वैशाख १८, ०७:३३ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिसंग  जोडिएको मोहनापुल अत्तरिया ६ लेन सडकको निर्माण अवधी थप्ने तयारी भइरहेको छ। दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी सडक निर्माण सुरु भएपनि उक्त अवधीमा आधा पनि काम हुन नसकेपछि फेरी म्याद थप गर्न लागिएको हो।  तीन वटा प्याकेजमा ठेक्का सम्झौता भएर निर्माण भइरहेको ६ लेन सडकमा सम्झौता अवधी सकिने बेला सम्म ३० प्रतिशत मात्रै भौतिक प्रगती भएको छ।

 ६ लेन सडक आयोजना कार्यालयका इन्जिनीयर दिनेश राज ओझाले पहिलो प्याकेजमा आउँदो जेठ ९ र दोस्रो र तेस्रो प्याकेजमा बैशाख ३० मा सम्झौता अवधी सम्पन्न हुने जानकारी दिए। उनले  सडकमा न्युन प्रगती भएका कारण निर्माण व्यवसायीको सिफारिसका आधारमा म्याद थपिने बताए।  विभिन्न कारण देखाउदै निर्माण व्यवसायीले सडक निर्माणमा ढिलाई गरेपछि तीन वटै प्याकेजको काम निराशाजनक रहेको छ।

 दुई वर्ष सम्म निकै कम प्रगती भएपछि र्निाण व्यवसायीहरुले अहिले क्षेत्राधिकार खाली नहुनु, विद्युतका पोल सार्न ठेक्का प्रक्रियामा ढिलाइ हुनु, खानेपानीको पाइप लाइन नसारिनु र सडकमा परेका रुख कटानीमा भएको ढिलाइलाई प्रमुख कारण देखाइरहेका छन्। ६ लेन सडकको दुई र तीन नम्बर प्याकेज निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत रोशन भट्टले लामो समय सम्म क्षेत्राधिकार खाली हुनुमा भएको ढिलाईले प्रगती सन्तोशजनक नदेखिएको दावी गर्दै सम्झौता अवधी डेढ वर्ष बढाउन माग गर्ने बताए।

आयोजना अन्तर्गत अहिले सम्म कालोपत्रे गरिने सबै खण्डमा ग्राभेल समेत हुन सकेको छैन भने सडकमा पर्ने दुई दर्जन कल्भर्ट निर्माणको काम पनि अधुरै रहेको छ। सडक अन्तर्गत निर्माण हुने तीनवटा पुलको त टेन्डर नै भएको छैन।  यस्तो अवस्थामा निर्माण व्यवसायीकै मागका आधारमा सम्झौता अवधी थप नहुने मोहनापुल अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका इन्जिनीयर खगेन्द्र शाही बताउछन्।

आयोजना कार्यालयले सडक मिचेर बनाइएका घर भत्काउन नसक्दा तथा सडकमा परेका रुख कटानको अनुमति ढिलो पाउँदा निर्माण कम्पनीले सम्झौतापछिको केही समय काम सुरु गर्न सकेको थिएन भने सडक निर्माणमा विद्युत्का पोल सारिए पनि खानेपानीका पाइपले गर्दा सडक निर्माणमा अवरोध सिर्जना हुदै आएको छ।

आयोजना कार्यालय यस्ता अवरोधहरु ह्टाउन पहल गर्दै निर्माणलाई तिव्रता दिन अग्रसर नभएपछि  स्थानीयले धुलाम्मे सडकमा आवतजावत गर्न सास्ती व्यहोर्नु परेको छ भने व्यापार व्यवसाय समेत चौपट भएको छ। अर्कोतीर ६ लेन सडक आयोजनाले दुई वर्षमा तीनजना प्रमुख पाएको छ। लामो समय सम्म एउटै व्यक्तिले कार्यालय प्रमुख भएर काम गर्न नपाउँदा समेत सडक निर्माणको कार्य पछाडी धकेलिएको धेरैको भनाई रहेको छ।    
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस