सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले यो वर्ष २६२ किलोमिटर सडक ग्राभेल गर्दै

२०८० कार्तिक १६, ०५:५९ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले १ नम्बर वडादेखि १९ नम्बर वडासम्मका ग्राभेल हुन बाँकी सबै सडक ग्राभेल गर्ने भएको हो। उपमहानगरले यो वर्ष २६२ किलोमिटर सडक ग्राभेल गर्ने छ।

अहिलेसम्म ग्राभेल हुन नसकेका सम्पूर्ण सडक चालु आर्थिक वर्षभित्र ग्राभेल गर्ने नीतिगत निर्णय भइसकेको छ। उपमहानगरले सडक ग्राभेल गर्न आवश्यक पर्ने बजेट पनि छुट्याएर काम समेत अगाडि बढाएकोनगर प्रमुख गोपाल हमालले बताए। "हामीले यो वर्ष २६२ किलोमिटर सडक ग्राभेल गर्नुपर्ने प्राविधिक नापजाँचबाट थाहा भएको छ। कुनै ठाउँमा प्राविधिक नपुगेका भए सडकको लम्बाइ अझै बढ्छ होला," उनले भने, "एक पटक पनि ग्राभेल नभएका सडक खोजी खोजी ग्राभेल गर्ने नीति उपमहानगरको छ।"

धनगढीका ग्रामीण क्षेत्रका धेरैजसो भित्री सडकहरू ग्राभेल हुन बाँकी छन्। उपमहानगरले ग्राभेल हुन नसकेका सडकको वडाअनुसार विवरण तयार गरेर काम थालेको छ। सम्बन्धित वडा तथा उपमहानगरको संयुक्त लगानीमा सडकमा ग्राभेल हाल्न थालिएको नगर प्रमुख हमालले बताए। "सडक ग्राभेल नहुँदा सर्वसाधारणले ग्राभेल माग्नकै लागि पटक-पटक नगरपालिका धाएको देखियो," उनले भने, "ग्राभेल माग्नकै लागि गाउँबाट धनगढी कसैले पनि आउन नपरोस् भनेर यो वर्ष १९ वटै वडामा क्रमशः ग्राभेल नभएका सडकमा ग्राभेल गर्ने नीति ल्याएका हौ।"

सडक ग्राभेल गर्न उपमहानगरले आफ्नै टिपर र डोजरहरू प्रयोग गरेको छ। ग्राभेल गरिएका सडकमा पानी पिच गरिन थालिएको छ। वडा नम्बर १९ बाट सडक ग्राभेल गर्ने काम सुरु भएको छ भने केही दिनमा १ नम्बर वडाबाट पनि काम थाल्ने नगर प्रमुख हमालले बताए। " हामीले सडक ग्राभेल र पानी पिचको काम वडा नम्बर १९ बाट सुरु गरेको छौँ। वडा नम्बर १९ मा काम सकेर १८ मा ग्राभेल गर्न थालिएको छ। यो वर्षबाट ग्राभेल युगको अन्त्य गर्ने योजना उपमहानगरको छ," नगर प्रमुख हमालले भने।

धनगढी उपमहानगरले जग्गा प्लटिङ गर्दा जग्गा कारोबारीले नै १५ सेन्टिमिटर मोटाइको ग्राभेल हाल्नै पर्ने नीति कार्यान्वयनमा ल्याएको छ। नयाँ बन्ने सडकमा जग्गा कारोबारीले नै ग्राभेल गर्ने भएपछि ग्राभेल गर्नुपर्ने नयाँ सडकको लम्बाइ बढ्ने छैन। यो वर्ष सबै सडकमा ग्राभेल गर्ने काम सकिए अर्को वर्षबाट ग्रामीण सडकहरू कालोपत्र गर्ने योजना ल्याउने नगर प्रमुख हमालले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस