तराईमा बेमौसमी वर्षाले धानबालीमा क्षति, दार्चुलामा हिमपात
धनगढीः बेमौसमी वर्षाका कारण किसानको धानबालीमा आंशिक क्षति पुगेको छ। सोमबार आएको हावाहुरीसँगै परेको वर्षाले किसानको धानबालीमा क्षति पुगेको छ।
पश्चिम तराईमा हावाहुरीसँगै आएको वर्षाले खेतमा काटेर राखेको धानबालीमा क्षति पुगाएको छ। बाली भित्र्याउने बेला परेको वर्षाले पश्चिम तराईका किसान चिन्तित बनेका छन्। आज दिउँसो आवाहुरीसँगै परेको वर्षाले काटेर सुक्न लागेको धानबालीमा क्षति पुगेको धनगढी–११ का किसान विनोद खत्रीले गुनासो गरे।
‘एकाएक हावाहुरी आयो, लगत्तै पानी पर्न सुरु भएपछि काटेको धान समाल्न समस्या भएको हो।’ काटेको धानबाली खेतमै छ, काम लाग्ने हो की नलाग्ने अहिले नै भन्न सकिने अवस्था छैन, उनले भने। वर्षा अहिले पनि रोकिएको छैन्। सुदूर पहाडी जिल्लामा आइतबार राति वर्षा भएको थियो भने कैलाली र कञ्चनपुरमा सोमबार दिउँसो वर्षा भएको हो। वर्षाका कारण भित्र्याउन ठिक्क पारेको धानबाली खेतमै रहेको किसानको गुनासो छ।
आइतबार बेलुका परेको हिमपातले दार्चुलाको तल्लो क्षेत्रमा चिसो बढेको छ। लेकाली भेगको हिमपातले उँचाइका बस्तीमा चिसो बढेपछि जनजीवन प्रभावित बन्न पुगेको छ। मौसम बदली भई आइतबार बेलुकातिर हिमपात भएको दार्चुलाको ब्यास गाउँपालिका–१ तिंकरका स्थानीय हितेश बुढाथोकीले बताएका छन्। शनिबार र आइतबार तिंकरमा हिमपात भएको हो।
ब्यास गाउँपालिका–१ कै छाङ्रूमा असिनासहित वर्षा भएको छ। जिल्लाका अन्य लेकाली क्षेत्रका उच्च भागहरूमा हिमपात भएको र बस्तीमा असिनासहितको वर्षा भएको स्थानीयले बताएका छन्। अपीहिमाल गाउँपालिकाका उच्च भेगमा पनि हिमपात भएको छ। जिल्लाका विभिन्न स्थानमा असिनापानीले तरकारी, फलफूल तथा बालीनालीमा क्षति पु¥याएको छ।
असिनापानीले पाक्दै गरेको फलफूल र तरकारीमा ठूलो क्षति पु¥याएको स्थानीयले बताएका छन्। असिना पानीका कारण लेकम गाउँपालिकाका विभिन्न स्थानहरूमा फलफूल र तरकारी खेती नष्ट गरेको लेकम गाउँपालिका–५ पिर्तोलीका गोपालसिंह खत्रीले बताएका छन्। पहाडी जिल्ला दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुगाएको छ।
दार्चुलामा हावाहुरीसहित असिना पानी परेको हो। बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले अन्नबालीमा क्षति पुगाएको छ। बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरसहित पहाडी जिल्लामा समेत क्षति पुगाएपछि किसान चिन्तित बनेका छन्।