नेपालमा पहिलो पटक हाइड्रोजनबाट बल्यो चुलो
काठमाडौंः घरमा खाना पकाउने इन्धनको रुपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको छ।
नेपाल, बेलायत र स्वीट्जरल्याण्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरुले १८ महिनादेखि गरिरहेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ। नयाँ ढंगबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर ७ मिनेटमा खाजा पकाइएको विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए।
नेपाल इनर्जी फाउण्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौं विश्वविद्यालय, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्वीट्जरल्याण्डको सहयोगमा आइतबार सफल परीक्षण भएको उनले बताए।
‘नेपालमा डेढ वर्षदेखि भइरहेको अध्ययनले हाइड्रोजन इन्धनको प्रयोगमा ‘ब्रेक थ्रु’ भएको छ। सम्भवतः हामी पहिलो पटक नेपालमा हाइड्रोजन स्टोभ बनाउन पनि सफल भएका छौं’ थापाले भने, ‘नेपालमा अथाह सम्भावना भएको हाइड्रोजन अब घरमै खाना पकाउने ग्याँसको विकल्पमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन अध्ययन सफल भएको छ।’ विद्युत् परियोजना मार्फत एउटा गाउँका १५ परिवारमा हाइड्रोजन चुल्हो मार्फत खाना पकाउने कार्यक्रम डेढ वर्षभित्रै सम्पन्न गर्न अब काम अघि बढ्ने उनले बताए।