सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो बन्नेछ दैजी–छेलामा औद्योगिक क्षेत्र, २६९.७३ हेक्टरका लागि आवेदन

२०८० भदौ २७, ११:२१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणले अब गति लिने अपेक्षा गरिएको छ। विविध प्रक्रियागत झनझटका कारण लामो समय चर्चामा मात्र सिमित बन्न पुगेको सो औद्योगिक क्षेत्र निर्माणले अब भने गति लिनसक्ने अपेक्षा सम्बद्ध अधिकारीहरुले नै गरेका छन्। औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएसँगै अब निर्माणले गति लिने अपेक्षा गरिएको हो।

बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा दैजी–छेला औद्योगिक क्षेत्रको स्थापना गर्न करीब अढाइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। त्यतिबेला तत्काल काम अघि बढ्ने उद्घोष गरिएको भए पनि काम हुन सकेको थिएन्। २०५२ सालमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव भएको थियो।

जिल्लाको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा २०७२ मा सरकारले चार किल्ला तोकेर ९ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलनको काम भने हालै मात्र पुरा गरेको छ। ब्रह्मदेव सब डिभिजनका कर्मचारी खटाएर रुखको लगत सङ्कलन कार्य पुरा गरिएको छ। 

कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार ८ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत सङ्कलन भएको छ। ‘वन विभागले माग गरे अनुसार सो क्षेत्रको चार किल्ला, क्षेत्रफल, नापीको नक्सा लगायतका कागजात मागिएको छ।’ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा २५ हजार रुख पर्ने देखाइए पनि अहिले ४३ हजार बढी रुख रहेको सूचना अधिकृत अवस्थीले बताए।

२०७७ चैतदेखि लगत सङ्कलन थालिएको थियो। लामो समयदेखि प्रस्ताव गरिएको भए पनि राजनीतिक अस्थिरता, जनशक्ति र बजेट अभावलगायत कारण काम शुरु हुन सकेको थिएन्। गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षणपछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको प्रक्रिया अघि बढाउन एक अर्ब बजेट विनियोजन गरेका थिए। सो बजेट खर्च हुन नसकेर फ्रिज भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, नेपालगञ्जले जनाएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वासुदेव सोडारीले रुखको लगत सङ्कलन भएर सो क्षेत्रका सामुदायिक वन अध्यक्षसहित पदाधिकारीले हस्ताक्षरसमेत गरिसकेको बताए। ‘वन डिभिजनले वन विभागमा रायसहितको लगत प्रतिवेदन पठाउने र त्यसपछि औद्योगिक क्षेत्रको भोगाअधिकार लिने विषय प्रक्रियामा जानेछ।’ यो वर्ष भोगाधिकार लिने प्रक्रियामा लाग्ने प्रमुख सोडारीले बताए।

वनको प्रक्रिया टुंग्याएर मन्त्रिपरिषद्बाट भोगाधिकार नलिएसम्म औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजनले मात्रै रकम खर्च गर्न नसकिने उनले बताए। ‘२६९.७३ हेक्टर क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्न उद्योगबाट आवेदनसमेत लिइएको छ,’ प्रमुख सोडारीले भने, ‘अब कार्यालयमा पनि नयाँ कर्मचारी पठाएर काम अघि बढाउनेछौं।’ उनले वनका कर्मचारीसँग समन्वय गरी कार्यालय नियमित रूपमा खोल्नका लागि सहायकस्तरको कर्मचारी खटाइएको बताए।

औद्योगिक क्षेत्र स्थापनाका लागि कूल लागत ९ अर्ब अनुमान गरिएको छ। औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सोडारीले हाल चार सय बिघामा भौतिक संरचना बन्ने तयारी छ। औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ उद्योग स्थापना हुने छन्।

कमेन्ट लोड गर्नुस