सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा भद्रगोल, बिरामी निजीमा धाउन बाध्य

सेती अस्पतालमा शल्यक्रियाको पालो नपाएपछि बिरामीलाई निजी क्लिनिकमा लग्दै आफन्तहरू
सेती अस्पतालमा शल्यक्रियाको पालो नपाएपछि बिरामीलाई निजी क्लिनिकमा लग्दै आफन्तहरू
२०८० भदौ २५, ०९:५८ नारायण अवस्थी

धनगढीः बाजुराको त्रिवेणी नगरपालिकाका सुशील अयडी आइतबार सेती प्रादेशिक अस्पतालमा भेटिए। मृगौलामा समस्या भएर अस्पताल  आएका अयडीले ओपिडीमा डाक्टर भेट्ने पालो पाए पनि भिडियो एक्सरे र पिसाब परीक्षण गराउने पालो सेतीमा नपाउने देखेपछि  क्लिनिकमा गएर भिडियो एक्सरे र पिसाब परीक्षण गराए। कैलालीको गौरीगङ्गा नगरपालिका घर भएका करिस्मा साउँदले शुक्रबार राति २ बजे अकस्मात छोरा बिरामी हुँदा उपचार गर्न सेती अस्पतालमा लगिन्।

आकस्मिक कक्षबाट छोराको उपचारका लागि औषधी खरिद गर्न अस्पतालको फार्मेसी जाँदा डाक्टरले सिफारिस गरेको औषधि मिलेन। उनले नजिकैको नोभा अस्पतालबाट औषधी खरिद गर्नुपरेको बताइन्। आइतबार साढे दश बजे सेती अस्पतालबाट गोदावरी नगरपालिका घर भएकी कुमारी विष्टलाई ट्रली बेडमा राखेर बाहिर ल्याइदै थियो। शनिबार रुखबाट लडेर खुट्टा भाँच्चिएकी  विष्टको शल्यक्रियाको पालो एक–डेढ हप्तापछि मात्रै आउने बताइएपछि निजी अस्पतालको शरणमा जानुपर्ने भयो।

बुहारीको तुरुन्त शल्यक्रिया गर्नुपर्ने तर सेतीमा पालो एक डेढ हप्तापछि आउने भनेपछि शल्यक्रिया गर्न निजी अस्पतालमा लैजान लागेको कुमारीका ससुरा कैले विष्टले गुनासो पोखे। ‘सेतीमा एक डेढ हप्तापछि पालो आउछ भनेकाले छिटो शल्यक्रिया गर्न निजी अस्पतालमा लैजान लागेका छौँ। घरमा साना नातिनातिना छन्। सरकारीमा सस्तो उपचार हुने भए पनि  छिटो शल्यक्रिया गर्न बाहिर  लग्ने निर्णय गरेका हौँ,’ विष्टले भने।

बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ घर बताउने प्रतिमा जोशी पनि सेती अस्पतालमा भेटिइन्। पाँच दिन अगाडि अर्थात् बुधबार १० वर्षीय छोराको पेट दुखेको उपचार गराउन अस्पताल आउँदा आफ्नो छोरालाई ओपिडीमा रहेका डाक्टरले सुरूमा हेर्नै नमानेको गुनासो प्रतिमाले गरिन्। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। सेती प्रादेशिक अस्पतालमा दैनिक आउने एक हजार बढी बिरामी मध्ये अधिकांशको गुनासो उपचार नपाएको भन्ने हुन्छ।

सेतीमा सर्वसाधारणले उपचार पाउन निकै समस्या रहेको धनगढी–७ घर बताउने भोजराज नेगीले बताए। ‘सेतीमा उचार गर्न प्रदेशको नौ जिल्लाबाट बिरामी आउँछन्। उनीहरूको सबैको यहाँ घरबार त हुन्न। होटलमा बस्नु पर्दा आर्थिक समस्या हुन्छ,’ उनले भने, ‘सामान्य उपचारका लागि पनि सेतीमा धाउनुपर्ने बाध्यता छ। सबैले उपचार पाउन भनेर अलिकति भए पनि व्यवस्था सुधार गरे राम्रो हुन्थ्यो।’

सेती अस्पताललाई प्रदेश सरकारले आफ्नो मातहत लिएर मात्रै हुन्न उपचार सेवा बढाउन पनि काम गर्नुपर्ने सर्वसाधारणले अवाज उठाउने गरेका छन्। अस्पतालको नाम र सरकारको स्वामित्व बदलेर मात्रै नहुने उपचार प्रभावकारी बनाउन प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्नुपर्ने धनगढी–१६ घर बताउने यज्ञराज ओझाको सुझाव छ। ‘यो अस्पतालमा डाक्टरहरू कम छन्। त्यसको व्यवस्थापन प्रदेश सरकारले गर्नुपर्छ,’ उनले भने, ‘प्रदेशले सेतीको सुधार गर्न सक्दैन भने छोड्नु पर्‍यो।

कर तिरेर नेता मात्रै पाल्ने त होइन होला। हामीले उपचार पनि पाउनु पर्‍यो।’ सेती प्रादेशिक अस्पताल ५० शय्या क्षमताको स्वीकृति पाएको अस्पताल हो। ३२ वर्ष अगाडि तय भएको १०६ जना स्थायी दरबन्दीको पनि केही पद हाल रिक्त छन्। प्रदेश सरकार स्वयंले सरकारी मापदण्ड लत्याउदै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पारित नगरी सेतीमा ३२५ भन्दा बढी शय्या सञ्चालन गरेको छ। 

विषेशज्ञ चिकित्सक, मेडिकल अधिकृत र नर्सिङ कर्मचारीको अभाव रहेको सेती अस्पताल करार र ज्यालादारी चिकित्सक र कर्मचारीको भरमा लामो समयदेखि चलाइएको छ। सेतीमा बिरामीको संख्या दैनिक बढ्ने तर अस्पतालमा जनशक्ति दैनिक घट्ने चक्र निरन्तर चलेको छ। स्थायी जनशक्ति नियुक्त नहुँदासम्म गुणस्तरीय सेवा प्रदान गर्न सकिन्न भन्ने बुझेको प्रदेश सरकारले नागरिकको उपचारको बेवास्ता गर्दै आएको छ। 

चार वर्षदेखि जनशक्ति नभएकाले व्यवस्थापन गर्छौं भन्दै आएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यो पटक पनि जनशक्ति व्यवस्थापन गरेर सेतीमा सबैले सहजै उपचार पाउने व्यवस्था गर्ने दोहर्‍याएको छ। जनशक्ति व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रको सुधारको थालनी सेती अस्पतालबाट गर्ने सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको दाबी छ।

‘सेतीमा बिरामीको निकै चाप छ। जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपचारमा समस्या हामीसँग छ,’ उनले भने, ‘सेतीलाई दुई सय शय्यामा चलाउने भन्ने तयारी थालिएको छ। अस्पताल सुधारको थालनी सेतीबाट छिट्टै हुनेछ।’ प्रदेश सरकार मातहतका जिल्ला अस्पताल, टीकापुर र महाकाली अस्पतालमा पनि चिकित्सकसहित स्वास्थ्यकर्मीको अभाव छ। जसको कारण पनि सबै जिल्लाका बिरामीले सेती अस्पताल आएर उपचार गराउनुपर्ने बाध्यता छ। तर, सेतीमा राम्रो उपचार पाउने आशा बोकेर आएका बिरामीले उपचार नपाएर कि महङ्गो शुल्क तिरेर निजीमा उपचार गर्नुपर्ने कि त रोग च्यापेर घर फर्किनुपर्ने अवस्था छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस