सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगातारको दोस्रो जितपछि नेपाल फाइनल नजिक

२०८० भदौ ६, ०७:२९ खबर संवाददाता

लगातारको दोस्रो विजय हात पारेपछि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियामा भइरहेको चार राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल नजिक पुगेको छ।

उपकप्तान इन्दु बर्माको अलराउन्ड प्रदर्शनमा नेपालले बुधबार कुवेतलाई ३४ रनले पराजित ग¥यो। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा पहिला ब्याटिङ गरे पनि नेपाल त्यत्ति जम्न सकेन्। टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८९ रनमात्र बनाउन सक्यो। अघिल्लो दिन हङकङविरुद्ध डेब्यु गरेकी पुजा महतो खेलको दोस्रो बलमै शून्यमा आउट भइन्। विन्दु रावलले २० रन बनाइन्। उनले ४५ बल खेलेकी थिइन्।

सम्झना खड्का १, सीता रानामगर ७, कप्तान रुविना क्षेत्री ५, कविता जोशी २, कविता कुँवर शुन्यमा आउट भइन्। छैटौं नम्बरमा ब्याटिङ गरेकी इन्दुले १९ बलमा २ चौकासहित २३ रन बनाइन्। १९ औं ओभरमा आउट भएकी उनले काजोल श्रेष्ठसँग आठौं विकेटमा २३ रनको महत्वपूर्ण साझेदारी गरेकी थिइन्। काजोलले १८ बलमा १ चौकासहित १९ रन बनाइन्। ‘डेब्यु’ गरिरहेकी खुशी डंगोल १ रनमा अविजित रहिन्। कुवेतकी मारिएमा हैदरले ४ विकेट लिइन्। उनले ४ ओभरमा ८ रनमात्र खर्चेकी थिइन्।

जवाफमा कुवेतले ८ विकेट गुमाई ५५ रनमात्र बनाउन सक्यो। जिफा जिलानीले ११ र खादिजा खालीले १० रन बनाइन्। इन्दुले ३ विकेट लिइन्। उनले ४ ओभरमा १५ रन खर्चिन्। खुशीले २ तथा कविता कुँवर, सीता र ईश्वरी विष्टले १–१ विकेट लिइन्। नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले बिहीबार मलेसियासँग खेल्ने छ।
 

कमेन्ट लोड गर्नुस