गोदावरीको त्यो भाइरल पुल जहाँ ‘टिकटक’ पारखीले भरिन्छ
धनगढीः कैलालीको चुरे फेदीमा अवस्थित भाइरल पुलको नामले परिचित काठे पुल टिकटक पारखीले खचाखच भरिने गरेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लालाई तराईसँग जोडिरहेको काठेपुल पुल दिनहुँ टिकटिक पारखीको पहिलो रोजाईमा पर्दै आएको छ। गोदावरीमा नजिकै पक्की पुल बनेपछि प्रयोगविहीन काठेपुल टिकटक पारखीले पनि आफुअनुकुल उपयोग गर्दै आएका छन्।
पुलमा पुगेर टिकटक बनाउन दैनिक गोदावरी पुग्नेको संख्या बढ्दो छ। पुलमा पुगेर टिकटक बनाउने र सामाजिक सञ्जालमा भाइरल हुनेको संख्या निकै ठुलो छ। पुलमा टिकटक बनाउन, फोटो खिचाउन दैनिक ठुलो संख्यामा युवा जमातको भिड लाग्ने गरेको छ। सार्वजनिक बिदा र शनिबारको दिन अझ धेरै भिड लाग्ने गरेको स्थानीय बताउँछन्।
स्थानीय युवाले टिकटक बनाउन र फोटो खिचाउन आउनेका लागि परम्परागत पहिरनको व्यवस्था नै गरिदिएपछि गोदावरीको काठे पुल पुग्नेको संख्यामा दोब्बरले वृद्धि भएको छ। केही युवाले भिडियो र फोटो खिचिदिने काम समेत पाएका छन् भने स्थानीय होटल र पसलको व्यापार पनि बढेको छ। फोटो खिच्नका लागि पहिरन भाडामा लिनेका लागि प्रतिघण्टा एक सय रुपैयाँ भाडा कायम गरिएको छ। त्यस्तै फोटो खिच्नेहरू फोटो र भिडियो खिचिदिएवापत् शुल्क लिने गरेका छन्।
पक्कीपुल बनेपछि संरक्षण नपाउँदा फलामे रड खिइँदै र काठ कुहिँदै गएको काठेपुलले संरक्षण पाउन थालेको छ। गोदावरी नगरपालिका–४ मा पर्ने सो पुल संरक्षणमा फिटिक्कै चासो नदिएको नगरपालिकाले पुल भाइरल भई स्थानीयको आयआर्जन बढेको देखेर चासो दिन थालेको छ। गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्लले पुल संरक्षण र व्यवस्थापन गर्न पहल गरिरहेको बताए। उनले वडा कार्यालयले तीन लाख रुपैयाँ लगानी गरेर गत जेठमा तारजालीले घेरबार गरेको बताए।
गोदावरी सामुदायिक वनले काठ उपलब्ध गराएपछि काठ कुहिएर प्वाल परेको ठाउँ टालिएको छ। यसअघि, स्थानीय युवाले पुलमा नेपालको झण्डा राखेका थिए। गोदावरी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत वसन्तकुमार खत्रीले पुल सडक विभागको नाममा रहेकाले नगरपालिकाले लगानी गर्न नपाएको बताउँछन्। गोदावरी नदीमा पक्कीपुल बनेपछि ८ वर्षदेखि काठेपुल जीर्ण अवस्थामा छ। गोदावरीबाट सुदूरपश्चिमका सात पहाडी जिल्लाको यात्रा सुरु हुन्छ। सो क्षेत्रमा काठे पुलसंगै मठमन्दिर र नेपालकै अग्लो हनुमानको मूर्ति पनि छ।