सुन तस्करीको छानबिन सीआईबीले गर्नुपर्ने कांग्रेसको निष्कर्ष
काठमाडौँः प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नै छानबिन गर्नुपर्ने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरिरहेको समयमा कांग्रेसले राज्यका निकायबाटै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो। कांग्रेसको निर्णयले राज्यका निकायमार्फत् नै छानबिन गर्ने सरकारको अडानलाई बल पुगेको छ। शुक्रवार शुरू भई सोमवार सम्पन्न कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा जो सुकै भए पनि छानबिनको दायरामा ल्याएर कानूनी कारवाही गर्नुपर्ने निर्णय गरेको हो।
बैठकमा महामन्त्री गगन थापाले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाउ छोराको नाम सुन तस्करीमा जोडिएको भन्दै सामान्य सोधपुछ नभई गम्भीर छानबिन गर्नुपर्ने बताएका थिए।