सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाको हवाई टापुको भीषण डढेलोमा ९३ जनाको मृत्यु

२०८० साउन २८, ०५:४६ खबर संवाददाता

एजेन्सीः  अमेरिकाको हवाई टापुको माउई जंगलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन्।

बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले भोग्नु परेको थिएन। विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएकोमा सर्वसाधारण क्रुद्ध भएका छन्। बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन। नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन्।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन्। अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताएका छन्। घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्। यस्तै टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाशै विनाश मात्र देखिन्छ।

डढेका पशुको दुर्गन्धले नाक छोप्दै सफाइ गर्नुपरेको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुनेबित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन्। हवाईका गभर्नर जोस ग्रिन नेतृत्वको टोली आगलागी भएको स्थानमा पुगेको जनाइएको छ। सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन्। आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ। 
 

कमेन्ट लोड गर्नुस