सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध संरचना हटाउन मेयर डोजरसहित सडकमा

२०८० साउन २६, ०४:१४ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक पालिकाका मेयर डोजरसहित सडकमा पुगेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिकाका मेयर सोहि नगरपालिकाको ११ नम्बर स्थित कलुवापुर बजारको ढल व्यवस्थापनको लागि डोजर सहित सडकमा पुगेका हुन्। बिहीवार नगर प्रमुख रणबहादुर महरा आफै डोजर लगेर उक्त क्षेत्रमा पुगेका थिए। उनको नेतृत्वको टोलीले ढल व्यवस्थापनको सुरुवात गरेको हो। नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माण गरेपनि नाली नबनाउँदा कलुवापुर बजार डुबानमा पर्दै आएको थियो। ‘अहिले सडकको दुबैतर्फ अस्थायी नाली निर्माण गरिरहेका छौं, सडक क्षेत्रमा पर्ने संरचना पनि हटाइरहेका छौं,’ नगर प्रमुख महराले भने, ‘दिर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्नेछ।’

गत आइतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरोकारवालासँग ढल व्यवस्थापनबारे छलफल भएको थियो। सडक डिभिजन कार्यालयले सीमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने, विद्युत कार्यालयले पोलहरु हटाउने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय गरिएको थियो। सडक र पूर्वाधार विकास कार्यालयले चासो नदेखाएपछि तत्कालको समस्या समाधानका लागि नगरपालिकाले अस्थायी नाली निर्माण गरिरहेको छ।  नगर प्रमुख  महरा, उपप्रमुख कल्पना जोशी पन्त, विभिन्न वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरगायतको टोली जेसिबीसहित कलुवापुर बजारमा पुगेको थियो।

कमेन्ट लोड गर्नुस