सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नागरिकको जनजीवन कष्टकर

२०८० साउन २५, १०:२६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका नागरिकको जनजीवन कष्टकर भएको छ। सुदूरपहाडमा पहिरो र तराईमा डुबान तथा बाढीले जनजीवन कष्टकर बनाएको हो।

लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त तथा यातायात सेवा अवरुद्ध बनेको छ। बाढीपहिरोले कैलाली र डडेलधुरामा बढी नै क्षति भएको जनाइएको छ। कैलालीमा तीन हजार चार सय १३ परिवार प्रभावित भएका छन भने डडेल्धुरको आलीताल गाउँपालिकाका २२ परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनीहरुलाई विद्यालयमा राखिएको हो। 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा तीन हजार चार सय १४ घर बाढी तथा डुबानबाट प्रभावित भएका छन्। कैलाली र कञ्चनपुरका विभिन्न नदीमा आएको बाढीका कारण घरबस्ती डुबानमा परेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ । तीन दिनदेखिको लगातारको वर्षाका कारण कैलाली जिल्लाको दक्षिण क्षेत्र जलमग्न बनेको छ। 

कैलालीका मोहना, कान्द्रा, काँढा, खुटिया, पथरैयालगायतका नदीमा पानीको बहाउ बढेको छ। बाढीका कारण भजनी नगरपालिकाका मात्र दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जोशीपुर गाउँपालिकामा दुई सय १०, टीकापुर नगरपालिकामा तीन सय ८१, जानकी गाउँपालिकामा दुई सय ७५, कैलारी गाउँपालिकामा एक सय ५५, धनगढी उपमहानगरपालिकामा ४२ परिवार प्रभावित भएका छन्। गोदावरी नगरपालिकामा सात परिवार प्रभावित भएका छन्। कैलालीको दक्षिण क्षेत्रका विस्थापित नागरिकलाई हुलाकी राजमार्ग, विद्यालय र सुरक्षित भवनमा राखिएको छ। 

कैलालीको बुढीतोलामा भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ। सात वटा जिल्लाको यातायात सम्पर्क विच्छेद हुँदा तरकारी तथा  खाद्यान्न, औषधि लगाएतका अति आवश्यक सामाग्रीको ढुवानीमासमेत समस्या भएको छ। 

कमेन्ट लोड गर्नुस