सुन सरकारको संलग्नतामा भित्रीएको होः ओली
काठमाडौँः नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताएका छन्।
‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ,’ओलीले भने, ‘त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र !’ सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको ओलीको आरोप छ। उनले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाए।
गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको आरोप लगाए। बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै शनिबार अध्यक्ष ओलीले बेथिती, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको बताए।