सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बनाउँदै गरेको घर गाउँलेहरूले भत्काइदिएपछि...

२०८० साउन १२, ०५:३४ खबर संवाददाता

बझाङः  बझाङमा एक जनाले बनाउँदै गरेको नयाँ घर गाउँलेहरूले भत्काइ दिएका छन्।

बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्। भारतको दिल्लीमा रोजगारी गर्ने ओखेडाको वडा नम्बर–७ मा जमिन छ। उनका बुवाले २०५७ सालमै सो जमिन किनेको बताए। आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ।

‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए, बाली, मकै काटेर आफ्ना गाईभैंसीलाई लिएर गएछन् यिनीहरूले,’ उनले भने, ‘हामी जाँदा खेरी मलाई दलित तँ के गर्न सक्छस् भने।’ त्यसपछि उनले आफ्नो बन्दै गरेको घर भत्काउँदै गरेको दृष्य लुकेर मोबाइलबाट भिडिओ बनाएको बताए। अहिले सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ‘मेरो जमिनभन्दा माथि वन छ, त्यो सार्वजनिक होला, हामीले आफ्नै जमिनमा घर बनाउन खोजेका हौं,’ उनले भने। ‘किनेदेखि अघि यो घरभन्दा तल तेरो हो, कमाइ खायै भनेर २३ वर्षदेखि चलन भोग गरी आएका हौं,’ उनले भने।

ओखेडाको घरसँगै अरू जमिन पनि छ। ६ नम्बर वडामा पनि उनको घर छ। अहिले सो विषय जिल्ला प्रहरी कार्यालयमा पुगेको छ।  उनका बुवा र भाइ जिल्ला प्रहरी कार्यालय पुगेका थिए। घर भत्काउनुअघि नगरपालिका वा वडाबाट कसैले केही भनेनन्। ओखेडाले मिलापत्र गराउन खोजे आफू नमिल्ने बताए। यो विषय तीन महिना अघि गाउँपालिकाको कार्यालयमा पुगेको थियो।

गाउँपालिकाका अध्यक्ष अमरसिंह महरका अनुसार पहिले नै सार्वजनिक जमिनमा घर लगाएको भनेर अरूले विरोध गरेका थिए। स्थानीयले यो विषयको निवेदन ल्याएर गाउँपालिका आएका थिए। पछि अमिन ल्याएर कुरा गरौंला भन्दाखेरी आज गाउँलेहरू आएर त्यसो गरेको अध्यक्ष महरले बताए। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ओखेडाले आफ्नो घर भत्काइदिएको भन्दै उजुरी दिएका छन्। प्रहरीले प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस