सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण

२०७६ वैशाख ६, १०:३५ खबर संवाददाता

उत्तर कोरियाले गएको बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ। केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन। उत्तर कोरियाली नेता गएको वर्ष नोभेम्बरयता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन्।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो। किमको भनाइ उद्धृत गर्दै केसीएनएले भनेको छ, “नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ । सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु।”

विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन्। हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्तराज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाइ छ। कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिसले अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुन सक्ने बताएका छन्। रासस
 

कमेन्ट लोड गर्नुस